मेलबर्न, २५ असार — भिक्टोरियन नेपाली समुदायका सक्रिय सदस्य प्रदीप मिश्रले आगामी २०२५–२०२७ अवधिका लागि एनआरएनए स्टेट कोअर्डिनेशन काउन्सिल (SCC) भिक्टोरिया सदस्य पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
प्रदीप मिश्रले आफूले नेपाली समुदायलाई एकजुट गर्ने, हाम्रो संस्कृति संरक्षण गर्ने, कल्याणकारी कार्यक्रमलाई समर्थन गर्ने र अस्ट्रेलिया तथा विश्वभरि रहेका नेपालीहरूको अधिकार तथा हितको वकालत गर्ने एनआरएनएको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्।
उनले आफ्नो उम्मेदवारी घोषणामा भिक्टोरियन नेपाली समुदायभित्र एकता मजबुत बनाउने, समावेशी नेतृत्व र युवा सहभागितालाई प्रवर्द्धन गर्ने, प्रवासी कल्याण, सामाजिक समावेशीकरण र सशक्तिकरणमा जोड दिने प्रतिबद्धता जनाएका छन्।
त्यसैगरी उनले नयाँ आप्रवासी र विद्यार्थीहरूको व्यावहारिक सहयोग, नेपाली संघसंस्थाहरूसँग सहकार्य र अस्ट्रेलियामा नेपालको पर्यटन तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा विशेष जोड दिने बताएका छन्।
“म पदका लागि होइन, सेवाका लागि उभिएको छु। हामी सबै मिलेर भिक्टोरियामा एक मजबुत, समावेशी र गर्विलो नेपाली समुदाय निर्माण गरौं,” उनले भने।
प्रदीप मिश्रले समुदायको विश्वास र समर्थनको लागि आभार व्यक्त गरेका छन्।