“राजनीति होइन, सेवा, पारदर्शिता र सहकार्य मेरो प्रतिबद्धता हो”
अष्ट्रेलिया — अष्ट्रेलियामा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत नारीनिकुञ्जको राष्ट्रिय महिला संयोजक (२०२५–२०२७) पदका लागि रिज्नू अधिकारीले आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन्।
दक्षिण अष्ट्रेलियाबाट सक्रिय सामाजिक व्यक्तित्व अधिकारीले विगत चार वर्षदेखि एनआरएनएको महिला विभागमा निरन्तर भूमिका निभाउँदै आएकी छिन्। सन् २०२१ देखि २०२३ सम्म महिला सदस्य र हाल दक्षिण अष्ट्रेलिया नारीनिकुञ्जकी संयोजकको रूपमा कार्यरत अधिकारीले आफ्ना अनुभवलाई राष्ट्रिय तहमा पुर्याउन चाहेको बताएकी छिन्।
उनले भनिन्, “यो उम्मेदवारी मेरो व्यक्तिगत आकांक्षा होइन, सशक्त, स्वाभिमानी र समान अवसरप्राप्त महिला नेतृत्वको साझा सपना हो।”
उम्मेदवार अधिकारीका मुख्य प्रतिबद्धताहरू:
🔷 महिला नेतृत्व विकास र निर्णायक तहसम्मको पहुँच
🔷 सीप विकास, करियर सपोर्ट र उद्यमशीलता प्रवर्द्धन
🔷 विद्यार्थी, युवती र नयाँ आप्रवासी महिलासँग सहकार्य
🔷 स्वास्थ्य सचेतना, मानसिक सशक्तिकरण र घरेलु हिंसासम्बन्धी चेतना
🔷 नेपालका संघसंस्थासँग सहकार्य र समन्वय
🔷 राज्य र राष्ट्रिय तहमा महिला सञ्जाल विस्तार र सहकार्य प्रवर्द्धन
रिज्नू अधिकारीले नेपाली महिलाहरूको हक, सम्मान र सशक्तिकरणका लागि नीतिगत रूपमा काम गर्न, समावेशी नेतृत्व विकासमा जोड दिन र महिला केन्द्रित कार्यक्रमहरूमार्फत समुदायमा प्रत्यक्ष प्रभाव पार्न सकिने विश्वास व्यक्त गरेकी छन्।
उनले अन्त्यमा भनिन्, “कृपया तपाईंहरूको अमूल्य समर्थन, सुझाव र मतद्वारा मलाई सशक्त बनाउनुहोस्। म राजनीति होइन, सेवा, पारदर्शिता र सहकार्यमा विश्वास राख्छु।”