क्वालालम्पुर, मलेसिया – जब छेदा थारु पहिलो पटक मलेसियाको जोहोरबारु राज्यमा उत्रिए, उनीसँग मनभित्र अनेक सपना थिए – परिवारको आर्थिक उन्नति, घर बनाउने योजना, र आफ्ना बालबालिकाको भविष्य उज्यालो बनाउने आकांक्षा। तर समयक्रमसँगै ती सपना टुक्रिए, र अन्ततः उनी मलेसियाको राजधानी क्वालालम्पुरका सडकमा रात बिताउन बाध्य भए।
कपिलवस्तुको मोतिपुर–१ का छेदा थारु मलेसियामा तीन वर्षअघि फर्किचर कम्पनीमा काम गर्न आएका थिए। सुरुका दिनमा सबै सामान्य चलिरहेको थियो। तर कम्पनीमा उत्पन्न विभिन्न समस्याका कारण उनको कागजी स्थिति अवैधानिक बन्यो। न त काम थियो, न त बस्नको उचित ठाँउ। विगत तीन महिना उनी क्वालालम्पुरका सडक, पार्क र टोलहरूमा बसिरहेका थिए — अनिश्चित भविष्यसहित।
तर थारुको जीवन फेरि मोडियो।
नेपाल तामाङ घेदुङ मलेसियाका प्रतिनिधिहरूले उनको अवस्थाबारे थाहा पाएपछि, उनीहरूको पहलमा पिएनसीसी मलेसियासँग समन्वय भयो। अनि सुरु भयो उद्धार प्रक्रिया। नेपाली राजदूतावास मलेसियाले उनलाई घर फर्किनको लागि हवाई टिकट र यात्रा अनुमतिपत्र उपलब्ध गरायो। प्रवासी नेपाली मञ्च मलेसियाले अध्यागमन दस्तुरका लागि आवश्यक RM 520 सहयोग गर्यो।
१२ जुलाई २०२५, मलेसियाको समय अनुसार दिउँसो १२:१५ बजे, थारु मालिन्डो एयरलाइन्स चढेर नेपाल फर्किए। उनको अनुहारमा एक प्रकारको सन्तोष झल्किएको थियो — दुःख र संघर्षबीच पनि घर फर्किने सान्त्वना।
नेपाल पुगेपछि, पिएनसीसी मलेसियाले उनलाई सीधा कपिलवस्तु सम्म पुर्याउने व्यवस्था गर्ने जानकारी दिएको छ।
थारुको यो यात्राले अवैधानिक रूपमा काम गरिरहेका, रोजगारी गुमाएका वा कठिन परिस्थितिमा रहेका अरु नेपाली कामदारहरूको कथा पनि बोल्छ। उनीहरूको उद्धार र पुन:स्थापना सम्भव छ – यदि सही समयमा सही सहयोग प्राप्त भयो भने।
सम्पर्क स्रोत: नेपाल तामाङ घेदुङ मलेसिया र पि एन सी सी मलेसिया