एनआरएनए क्यानबेराको एससीसी सदस्य पदमा शिलु घिमिरेको उम्मेदवारी, पारदर्शिता र महिलाको प्रतिनिधित्वमा जोड

everest kitchen

क्यानबेरा, अष्ट्रेलिया — लामो समयदेखि स्वास्थ्य सेवा क्षेत्रमा सक्रिय नर्स शिलु घिमिरेले एनआरएनए (NRNA) क्यानबेराको SCC (State Coordination Council) सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्। नेपाल र अष्ट्रेलियामा गरी १० वर्षभन्दा बढीको स्वास्थ्य सेवा अनुभव बोकेकी घिमिरे पछिल्ला ८ वर्षदेखि अष्ट्रेलियामा बस्दै आएकी छन् र नेपाली समुदायमा सक्रिय छन्।

“म शिलु घिमिरे, एक गर्वित नर्स हुँ जसले नेपाल र अष्ट्रेलियामा स्वास्थ्य सेवा क्षेत्रमा लामो अनुभव हासिल गरेकी छु,” उनले आफ्नो सन्देशमा भनिन्, “एक कामकाजी आमा भएको नाताले महिलाहरू र परिवारहरूले भोग्ने चुनौतीहरू म राम्ररी बुझ्छु। त्यसैले म सबैको आवाज बन्ने प्रतिबद्धता व्यक्त गर्छु।”

उम्मेदवारी घोषणासँगै उनले पारदर्शिता, समावेशिता र जवाफदेहितामार्फत संस्थालाई बलियो र उत्तरदायी बनाउने अठोट व्यक्त गरेकी छन्। साथै, महिलाको हक, सहभागिता र प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै नेतृत्वदायी भूमिकामा महिलाहरूको पहुँच सुनिश्चित गर्ने आफ्नो उद्देश्य रहेको उनले स्पष्ट पारेकी छन्।

उनको भनाइमा, “तपाईंको विश्वास र समर्थनका साथ, हामी सँगै अघि बढ्न सक्छौं र हाम्रो समुदायमा अर्थपूर्ण, दिगो परिवर्तन ल्याउन सक्छौं।”

शिलु घिमिरेको उम्मेदवारीसँगै एनआरएनए क्यानबेरामा विविधता र प्रतिनिधित्वको नयाँ बहस सुरु हुने अपेक्षा गरिएको छ।