एनआरएनए आयरल्यान्डको अध्यक्ष पदमा ओम अधिकारीको उम्मेदवारी घोषणा, समाज परिवर्तनको स्पष्ट कार्ययोजना सार्वजनिक

everest kitchen

डब्लिन, आयरल्यान्ड – जुलाई १३, २०२५

गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्ड राष्ट्रिय समन्वय परिषद् (NCC) को आगामी कार्यकाल २०२५–२०२७ का लागि अध्यक्ष पदमा ओम अधिकारीले औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि सामाजिक, शैक्षिक तथा समुदायमुखी गतिविधिमा सक्रिय अधिकारीले पारदर्शी, समावेशी र उत्तरदायी नेतृत्वमार्फत संघलाई सशक्त बनाउने अठोट व्यक्त गरेका छन्।

उम्मेदवारी घोषणा गर्दै अधिकारीले भने, “यो उम्मेदवारी कुनै पदप्राप्तिको आकांक्षा होइन, यो हो—समाजप्रतिको समर्पण र गैरआवासीय नेपालीहरूको साझा भविष्यप्रतिको प्रतिबद्धता।”

उनले १४ बुँदे कार्ययोजना प्रस्तुत गर्दै संस्थालाई नयाँ दिशा दिने दृष्टिकोण सार्वजनिक गरेका छन्, जसमा उल्लेखनीय योजनाहरू निम्नानुसार छन्:

मुख्य प्रतिबद्धताहरू र कार्ययोजना

  1. नेपाली सामुदायिक केन्द्र स्थापनाको पहल – सामाजिक, शैक्षिक, सांस्कृतिक तथा आपतकालीन सेवाहरू प्रदान गर्ने सामुदायिक केन्द्र स्थापना।

  2. विद्यार्थी र युवाहरूका लागि करियर परामर्श कार्यक्रम – नियमित अन्तरक्रिया, तालिम, नेटवर्किङ र रोजगारीका अवसरमा जोड।

  3. NRNA बैठकका लागि नि:शुल्क हलको व्यवस्था – संस्थाको बैठक संघको तर्फबाट निशुल्क उपलब्ध गराइने।

  4. साप्ताहिक हेल्प डेस्क सञ्चालन – नयाँ आप्रवासीलाई रोजगारी, आवास लगायत विषयमा सहयोग।

  5. नेपाली भाषा तथा संस्कृति कक्षा – बालबालिका र युवामा भाषा र संस्कृतिको संरक्षण।

  6. डिजिटल NRNA – वेबसाइट तथा पोर्टलमार्फत पारदर्शी सूचना प्रवाह।

  7. प्राविधिक टिम गठन – कार्यक्रम व्यवस्थापन, प्रविधि र प्रचारका लागि विशेष टिम।

  8. वाणिज्यदूत सेवा विकेन्द्रीकरण – डब्लिन बाहिर पनि सेवा विस्तार (Cork र Limerick मा)।

  9. मानसिक स्वास्थ्य सहयोग टिम – विशेषज्ञहरूसँग सहकार्यमा तनाव, डिप्रेसनजस्ता समस्यामा सहयोग।

  10. आपतकालीन सहयोग कोष र द्रुत प्रतिक्रिया टोली – आकस्मिक अवस्थाका लागि स्थायी संरचना।

  11. नेपाली संस्कृति प्रवर्द्धन र कलाकार आमन्त्रण कार्यक्रम – कोर्क वा लिमरिकमा नियमित सांस्कृतिक कार्यक्रम।

  12. महिला सशक्तिकरण कार्यक्रम – स्वास्थ्य, उद्यमशीलता र अधिकार सम्बन्धी कार्यक्रम।

  13. आयरिस–नेपाली सांस्कृतिक आदानप्रदान – स्थानीय संस्था र समुदायसँग सहकार्यद्वारा मित्रता बलियो बनाउने।

  14. कृषिक्षेत्रका कामदारहरूलाई कानुनी तथा प्राविधिक सहायता – कर, आवास, सम्झौता, बीमा आदि विषयमा सहयोग।

अध्यक्ष पदका उम्मेदवार ओम अधिकारीले अन्त्यमा भने, “यो अभियान केवल मेरो व्यक्तिगत प्रयास होइन, हामी सम्पूर्ण नेपाली समुदायको साझा प्रयास हो। ‘समाजका लागि समर्पित नेतृत्व’ भन्ने मूल मन्त्रका साथ अघि बढ्ने हाम्रो अठोट छ।”

उनले सम्पूर्ण आयरल्यान्डवासी नेपालीहरूलाई आफ्नो सुझाव, मत र समर्थन दिन आग्रह गरेका छन्।