क्यानबेरा (ACT), अष्ट्रेलिया –
गैरआवासीय नेपाली संघ (NRNA) को आगामी कार्यकाल (२०२५–२०२७) को निर्वाचनका लागि समीर आचार्यले एनआरएनए अष्ट्रेलिया एसीटी सदस्य पदमा स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी घोषणा गर्नुभएको छ। “It all starts with you” भन्ने सशक्त नारा सहित आचार्यले राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर समुदाय सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
समीर आचार्य अष्ट्रेलिया आएका एक नेपाली विद्यार्थीका रूपमा आफ्नो यात्रा सुरु गरेर अहिले सफल व्यवसायी तथा सामाजिक अभियन्ता बनिसक्नुभएको छ। उहाँले विगत चार वर्षदेखि ACT क्षेत्रका अधिकांश सामाजिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएको र जहाँ सकिन्छ, त्यहाँ सहयोगी हात अघि बढाएको स्पष्ट पार्नुभयो।
“चार वर्षअघि पनि म समाज सेवाको भावनासहित चुनावमा उठेको थिएँ। जित्न नसके पनि म निरन्तर समुदायको सेवामा समर्पित भएँ,” आचार्यले भन्नुभयो। “चुनाव हार–जितको प्रक्रिया हो, तर म जे गर्न सक्छु, त्यो सदैव गर्नेछु।”
समीर आचार्यको मुख्य एजेन्डा (घोषणापत्र) यसप्रकार छन्:
-
अन्तर्राष्ट्रिय नेपाली विद्यार्थीहरूले भोग्दै आएका मानसिक स्वास्थ्य सम्बन्धी समस्यालाई तुरुन्त सम्बोधन गर्ने।
-
नेपाली भाषा, कला, संस्कृति र परम्पराहरूको संरक्षण तथा प्रवर्द्धनका लागि विशेष पहल गर्ने।
-
सांस्कृतिक कार्यक्रम, चाडपर्व र समुदाय जोड्ने गतिविधिहरू नियमित रूपमा आयोजना गर्ने।
-
स्थानीय र नेपाली समुदायबीच सामाजिक समायोजन र आपसी सम्बन्ध मजबुत बनाउने।
-
शिक्षा, पेशा र उद्यमशीलताको क्षेत्रमा नेपाली डायस्पोराका लागि नयाँ अवसरहरू सिर्जना गर्ने।
-
नेपाली संस्कृति अष्ट्रेलियामा प्रवर्द्धन गर्ने विशेष कार्यक्रम सञ्चालन गर्ने।
-
एनआरएन सदस्यहरूलाई NCC (National Coordination Council) का गतिविधि र प्रगतिबारे नियमित अपडेट दिने।
उहाँले सबै नेपाली परिवारहरूप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “यदि तपाईंहरूलाई लाग्छ म तपाईंहरूको प्रतिनिधि बन्न सक्ने व्यक्ति हुँ, कृपया साथ दिनुहोस्। तपाईंहरूको विश्वास र माया मेरा लागि प्रेरणाको श्रोत हुनेछ।”