ब्रिसबेन, अष्ट्रेलिया – आगामी कार्यकाल (२०२५–२०२७) का लागि गैर आवासीय नेपाली संघ, अष्ट्रेलिया (NRNA Australia) को क्वीन्सल्याण्ड राज्य महिला संयोजक पदमा सजिना बुढाथोकीले औपचारिक उम्मेदवारी घोषणा गरेकी छिन्।
सन् २०१९ मा अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा अष्ट्रेलिया आएकी बुढाथोकी हाल एक Mental Health Nurse को रूपमा कार्यरत छिन्। विद्यार्थी जीवनमा भोगेका एक्लोपन, मानसिक तनाव, र दिशाहीनता जस्ता अनुभवहरूले उनलाई समाजसेवामा अग्रसर बनाएको उनको भनाइ छ।
उम्मेदवारी घोषणामा उनले नेपाली समुदाय विशेषतः विद्यार्थी र महिलालाई लक्षित कार्यक्रमहरू प्रस्तुत गरेकी छन्। उनका प्राथमिक उद्देश्यहरूमा निम्न बुँदाहरू समावेश छन्:
मानसिक स्वास्थ्य सचेतना तथा सहयोग कार्यक्रम — विशेषगरी नयाँ विद्यार्थीहरूको लागि
नेपाली महिलाको सशक्तिकरण — आत्मनिर्भर र आत्मविश्वासी बन्ने यात्रामा साथ
‘साथी कार्यक्रम’ — नयाँ आगन्तुकहरूलाई स्थानीय समुदायसँग जोड्ने प्रयास
क्षेत्रीय कार्यक्रमहरू — क्वीन्सल्याण्डको दुर्गम क्षेत्रमा बसोबास गर्ने महिलाहरूलाई लक्षित
“यी मेरा कुनै ठूला वाचा होइनन्”, बुढाथोकीले भनिन्, “यी त हामी सबैले अनुभूत गरेका साझा आवश्यकता र संवेदनाहरू हुन्।”
NRNA Australia को निर्वाचन जुलाई २६ मा हुने तय भएको छ। समुदायभित्र सजिनाको उम्मेदवारीले नयाँ उमंग र सक्रिय सहभागिताको संकेत दिएको छ।