क्यानडा — विगत १७ वर्षदेखि क्यानडामा विभिन्न संघ–संस्थामा स्वयंसेवकको रूपमा सक्रिय रहँदै आएका दिपेन्द्र पाण्डेले आगामी गैर आवासीय नेपाली संघ (NRNA) क्यानाडा २०२५–२७ कार्यकालको लागि उपाध्यक्ष (पश्चिमी क्षेत्र) पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।
अनुभवसहितको नेतृत्व, समुदायप्रति प्रतिबद्धता, र स्थानीयदेखि राष्ट्रिय तहसम्मको सक्रिय सहभागितालाई आफ्नो आधारशिला मानेर पाण्डेले क्यानडाभर फैलिएको नेपाली समुदायलाई एकतामा बाँध्ने समावेशी र सामूहिक सोचको नेतृत्व गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
उनी भन्छन्, “म सबैको आवाजलाई समेट्ने एकता, समावेशिता र सामूहिक हितको पक्षधर हुँ। हामी सबैको साझा संस्था — NRNA — लाई अझ सबल बनाउनु आजको आवश्यकता हो।”
पश्चिमी क्यानडामा रहेका नेपाली समुदायको प्रतिनिधित्व गर्दै उनले समुदायका हरेक तहका आवाजलाई संस्थागत गर्न र दिगो समाधानका उपायहरू ल्याउने नेतृत्वदायी भूमिका निर्वाह गर्ने अठोट दोहोर्याएका छन्।
पाण्डेले सम्पूर्ण क्यानडावासी नेपालीहरूलाई आफ्नो अमूल्य मत र साथका लागि हार्दिक अनुरोध गर्दै भने, “NRNA हाम्रो साझा थलो हो। यसलाई अझ सबल बनाउँदै आगामी पुस्ताका लागि सशक्त आधार तयार पार्नु सबैको दायित्व हो।”
दिपेन्द्र पाण्डेको उम्मेदवारीसँगै पश्चिमी क्यानडामा एनआरएनए चुनावको सरगर्मी थपिएको छ।