सिड्नी, जुलाई १६, २०२५
गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आसन्न निर्वाचन २०२५ का लागि न्यू साउथ वेल्स (NSW) राज्यबाट विद्यार्थी तथा युवा मञ्च (Student and Youth Forum – SYF) सदस्य पदमा सुरज बुढाथोकीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
उम्मेदवारी घोषणासँगै बुढाथोकीले युवाको सशक्त प्रतिनिधित्व गर्ने, समावेशी सोचको नेतृत्व दिने र दीर्घकालीन सकारात्मक प्रभाव पार्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भनेका छन्, “गहिरो जिम्मेवारीको भावना र समर्पणका साथ, म विश्वास दिलाउँछु कि म युवाको प्रतिनिधित्व गर्न सक्षम उम्मेदवार हुँ। हामी सबैको आवाज बुलन्द पार्न, आपसी सम्बन्ध सुदृढ गर्न र दीर्घकालीन सकारात्मक प्रभाव पार्न म समर्पित छु।”
उनले “एक विश्वव्यापी नेपाली परिवार — एकता, समर्पण र सम्बन्धको आधारमा” भन्ने मूल नारालाई आत्मसात गर्दै, एनआरएनए अष्ट्रेलियामा युवाहरूको सहभागिता र पहुँचलाई सुनिश्चित गर्ने अठोट लिएका छन्।
सुरज बुढाथोकीले सम्पूर्ण न्यू साउथ वेल्सवासी नेपाली समुदाय र एनआरएन सदस्यहरूलाई आगामी जुलाई २६, २०२५ मा हुने निर्वाचनमा आफ्नो उम्मेदवारीलाई समर्थन गरिदिन आग्रह गरेका छन्।