टोकियो, जापान — १७ जुलाई २०२५
गैर–आवासीय नेपाली संघ (NRNA) जापानको १२औं अधिवेशन नजिकिँदै गर्दा दिपेश खत्री (केसी) ले उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। हाल NRNA जापानको केन्द्रीय सचिव पदमा रहेर कार्यरत खत्रीले लामो समयदेखि संस्थामा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
उनी भन्छन्: “गैरआवासीय नेपालीहरूको साझा सपना र नेपाली मातृभूमिको समृद्धिका लागि म निरन्तर क्रियाशील छु। पदको लोभ होइन, योगदानको सोचले यो जिम्मेवारीका लागि अघि बढेको हुँ।”
अनुभव र योगदान:
-
सन् २०१३ देखि NRNA जापानको पञ्जीकृत सदस्य
-
कान्तो क्षेत्रीय समितिमा सह–सचिव, उप–संयोजक, र संयोजक
-
२०२۳–२०२५ कार्यकालमा NRNA जापानको केन्द्रीय सचिव
-
जापानका विभिन्न सामाजिक संस्थामा समेत सक्रिय सहभागिता
खत्रीले आफ्नो उम्मेदवारी न्यायोचित, निस्वार्थ र अनुभवमा आधारित भएको बताएका छन्। उनका अनुसार, संस्थाको पारदर्शी, समावेशी र सबै नेपालीका लागि अपनत्व महसुस हुने बनावटमा आफू निरन्तर योगदान दिन प्रतिबद्ध छन्।
उनी थप भन्छन्: “म उपाध्यक्ष पदका अन्य साथीहरूप्रति पनि सम्मान व्यक्त गर्दछु। सबै उम्मेदवारहरूको उद्देश्य साझा हो — समुदायको सेवा। तर यदि मलाई विश्वास गरिएर जिम्मेवारी दिइयो भने म त्यसको इमानदारीपूर्वक न्याय गर्न सक्छु भन्ने आत्मविश्वास लिएको छु।”
उनले आगामी जुलाई २७ मा हुने निर्वाचनमा मतदाताहरूको साथ र समर्थनका लागि विनम्र अनुरोध गरेका छन्।