११ साउन, सिड्नी ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको न्यू साउथ वेल्स (NSW) राज्य युवा फोरम सदस्य पदमा सबियु गौतम विजयी भएका छन्। २०२५–२०२७ कार्यकालका लागि आयोजित निर्वाचनमा उनले युवा समुदायमा परेको गहिरो प्रभावसहित उल्लेखनीय मत प्राप्त गरेका हुन्।
सबियु गौतमले उम्मेदवारी घोषणासँगै भनेका थिए, “तपाईं एक्लो हुनुहुन्न — म त्यही बाटो हिँडेर यहाँ आइपुगेको हुँ,” भन्दै आफ्ना संघर्ष र अनुभव नेपाली युवाको प्रतिनिधित्वमा उपयोग गर्ने प्रण गरेका थिए।
संघर्षबाट सफलतासम्मको यात्रा
२०१८ मा विद्यार्थी भिसामा अष्ट्रेलिया प्रवेश गरेका गौतमले Hospitality Management र Commercial Cookery अध्ययन गरेपछि २०२० देखि पेशागत रूपमा शेफको रूपमा काम गर्न थालेका थिए। हाल उनी Dural Club मा हेड शेफका रूपमा कार्यरत छन् भने Parramatta Leagues Club मा समेत आवद्ध छन्। साथै, उनी Maven Entertainment मा इभेन्ट कोअर्डिनेटरको भूमिकामा रही नेपाली संस्कृति, संगीत र खानाको माध्यमबाट समुदायलाई जोड्ने कार्यमा सक्रिय छन्।
उम्मेदवारीको दृष्टिकोण : युवाका लागि सबल आवाज
गौतमले विद्यार्थी जीवनदेखि नेतृत्वको भूमिकासम्मको अनुभवका आधारमा नेपाली युवालाई मार्गदर्शन र अवसर प्रदान गर्ने लक्ष्यसहित उम्मेदवारी दिएका थिए। उनी भन्छन्, “हाम्रो युवाले मार्गदर्शन र सूचनाको अभावमा अवसर गुमाइरहेका छन्।”
उनले अघि सारेका मुख्य एजेन्डाहरू यस्ता छन्:
रोजगारीका अवसर – स्थानीय व्यवसाय र रोजगारदातासँग सहकार्य गर्दै नेपाली युवाहरूका लागि अवसर सृजना।
सीप विकास – Hospitality, Event Planning, Leadership जस्ता क्षेत्रमा व्यवहारिक कार्यशाला सञ्चालन।
खाना र संस्कृति मार्फत समुदाय एकता – नेपाली सांस्कृतिक कार्यक्रमको आयोजना र पहिचान संरक्षण।
Youth Support Line – नयाँ आइपुगेका वा समर्थनविहीन युवाहरूका लागि संरचित समर्थन प्रणाली स्थापना।
Team EKATA को सदस्यता
सबियु गौतम Team EKATA को हिस्सा भएर चुनावमा प्रस्तुत भएका थिए। उनले भने, “Team EKATA शब्दमा होइन, कर्ममा विश्वास गर्ने समूह हो। म कार्यदक्ष र इच्छाशक्ति भएका व्यक्तिहरूको यो समूहमा रहन पाउँदा गर्व गर्छु।”
युवाहरूका लागि सन्देश
“तपाईं यो यात्रामा एक्लो हुनुहुन्न। म पनि यही बाटोबाट आएको हुँ – अनिश्चितता, संघर्ष र खोजीको समय। तर सही मार्गदर्शन र समर्थन पाइयो भने, तपाईंले पनि आफूभित्रको क्षमता पहिल्याउन सक्नुहुन्छ। म आजको मात्र होइन, भोलिको युवाका लागि पनि त्यो साथ बन्ने अठोटमा छु।”