नेपाली महिला सशक्तिकरणतर्फको महत्वपूर्ण कदम
पर्थ –
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको पश्चिम अष्ट्रेलिया राज्य समितिअन्तर्गत महिला संयोजक पदमा शिल्पा पोखरेल विजयी भएकी छन्। शनिबार सम्पन्न निर्वाचनमा उनले उल्लेखनीय मत प्राप्त गर्दै जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेकी हुन्।
समाजसेवा, महिला हकअधिकार, र आप्रवासी नेपाली महिला सशक्तिकरणको क्षेत्रमा लामो समयदेखि क्रियाशील पोखरेल नेपाली महिला समुदायबीच अग्रणी नेतृत्वका रूपमा परिचित छन्।
निर्वाचनपश्चात प्रतिक्रिया दिँदै पोखरेलले भनिन्:“यो जित मेरो मात्र होइन, हरेक प्रवासी नेपाली महिलाको जित हो। म महिला नेतृत्व, स्वास्थ्य, शिक्षा र समावेशी सहभागिताको क्षेत्रमा परिणाममुखी पहल गर्नेछु।”
उनले घरेलु हिंसाविरुद्ध सचेतना, आत्मनिर्भरता प्रवर्द्धन, नेतृत्व विकास तालिम, र समुदायमा महिला सहभागिता वृद्धि गर्ने योजना अघि सारेकी छन्।
शिल्पा पोखरेलको जितलाई नेपाली महिलाको प्रतिनिधित्व र नेतृत्व विकासतर्फको सार्थक प्रगतिका रूपमा लिइएको छ। पश्चिम अष्ट्रेलियामा महिला नेतृत्व अझ सशक्त बनाउने दिशामा यो जितले उल्लेखनीय भूमिका खेल्ने विश्वास गरिएको छ।