एनआरएनए अष्ट्रेलिया भिक्टोरिया राज्य युवा मंच सदस्यमा आशिष गैरे निर्वाचित, “परिवर्तन अब म गर्छु” भन्ने प्रतिबद्धता

everest kitchen

२७ जुलाई २०२५, अष्ट्रेलिया ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको हालै सम्पन्न निर्वाचनमा आशिष गैरे राज्य युवा मंच सदस्य पदमा विजयी भएका छन्। पहिलो पटक उम्मेदवारी दिएका गैरेले आत्मविश्वासका साथ चुनाव जित्दै नयाँ पुस्ताको नेतृत्वको आशा बोकेका छन्।

निर्वाचनपछिको सन्देशमा गैरेले भावुक अभिव्यक्ति दिँदै भनेका छन् —
“सुरुआत सानो देखिन सक्छ, तर सपना ठूलो छ।”
उनका अनुसार यो जित केवल व्यक्तिगत उपलब्धि नभएर युवा पुस्ताले नेतृत्व गर्न सक्छ भन्ने सामूहिक विश्वासको संकेत हो।

गैरेले समाजमा भइरहेको आलोचना र असन्तुष्टि सुन्दै गर्दा आफैंले “अब म नै सुरुवात गर्छु” भन्ने संकल्प गरेका थिए। त्यही संकल्पले उनलाई उम्मेदवारी तिर डोर्यायो र अन्ततः विजयसम्म पुर्‍यायो।

उनले भावनात्मक रुपमा आफ्नो प्रेरणाको स्रोत बाबिन मिश्रलाई धन्यवाद दिँदै भने, “You can do it” भन्ने उहाँको एउटै वाक्यले मेरो आत्मबल दोब्बर बनायो।”

गैरेले आगामी दिनमा युवाहरूलाई एकताबद्ध गर्दै समुदायमा धरातलीय सेवा, भुइँमान्छेको आवाज, र सकारात्मक परिवर्तनमा केन्द्रीत काम गर्ने प्रतिवद्धता जनाएका छन्।

उनले अन्त्यमा सबै मतदाताहरू, समर्थकहरू र साथ दिने व्यक्तिहरूलाई धन्यवाद दिँदै जय युवा, जय एनआरएनए भन्ने नारासहित सन्देश टुंग्याएका छन्।