मलेसियास्थित नेपाली दूतावासको तीन महिनाको कठिन प्रयासपछि पीडित नेपाली नागरिक स्वदेश फिर्ता

everest kitchen

काठमाण्डौं, साउन १५ — मलेसियास्थित नेपाली दूतावासको तीन महिनाको अविचल प्रयासपछि शारीरिक र मानसिक रूपमा पीडित एक नेपाली नागरिक (नाम गोप्य राखिएको) २०८२ साउन १५ गते नेपाल फर्कन सफल भएका छन्।

उनी पेनाङस्थित ग्रीन ब्यारेट सेक्युरिटी कम्पनीमा कार्यरत थिए। तर मिति २०८२ बैशाख ११ गते, कम्पनीबाट भागेर मलेसियास्थित नेपाली दूतावासमा पुगेका थिए र नेपाल फर्काउने व्यवस्था मिलाइदिन अनुरोध गरेका थिए।

दूतावासले तुरुन्तै सम्बन्धित कम्पनीसँग समन्वय गरी उनलाई सकेसम्म छिटो घर फर्काउने पहल गर्‍यो। कम्पनीले मिति २०८२ बैशाख २३ गतेको उडानमार्फत नेपाल फर्काउने व्यवस्था गरेको भए पनि, उनी तोकेको समयमा विमानस्थलमा उपस्थित भएनन्। भिसा २०८२ बैशाख २६ गते सकिने अवस्था थियो।

त्यसपछि उनी २०८२ असार २८ गते कम्पनीको होस्टेलमा पुनः फेला परे। दूतावासको आग्रहमा २०८२ साउन २ गते कम्पनीले उनलाई बसमार्ग हुँदै दूतावासमा ल्यायो। त्यतिबेला उनको व्यवहार असामान्य देखिएकोले क्रिस्टिनाको केयरगिभिङ होम केयर सेन्टरमा उपचारका लागि भर्ना गरियो।

त्यहाँ १२ दिनको उपचारपछि उनलाई उडानयोग्य घोषित गरियो। दूतावासका कर्मचारीले साउन १४ गते उनलाई मलेसियाको अध्यागमन विभागमा लिएर गई आवश्यक प्रक्रिया पुरा गरे। तर फर्किने क्रममा उनले घर फर्कन डर लागेको तथा अनिच्छा व्यक्त गर्दै केयर सेन्टरबाट करिब पाँच किलोमिटर टाढा भाग्ने प्रयास गरे। सौभाग्यवश, दूतावासका कर्मचारीले उनलाई समयमै समातेर पुनः केयर सेन्टर फिर्ता गरे।

अन्ततः साउन १५ मा दूतावासका कर्मचारीहरूले उनलाई विमानस्थल लिएर गई अध्यागमन प्रक्रिया पूरा गरी विमानमार्फत नेपाल पठाए। त्यही दिन उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नी आमासँग पुनर्मिलन गरे।

उनी स्वदेश फर्किन सफल हुनामा हवाई टिकट उपलब्ध गराउने दाता, सहयोगी संस्था प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) काठमाण्डौं, तथा सम्पूर्ण सहयात्रीहरूप्रति नेपाली दूतावासले हार्दिक आभार प्रकट गरेको छ।