क्वालालम्पुर, मलेसिया – २०८२ भदौ ६
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह तिज महोत्सवमा सहभागी हुन मलेसिया आइपुगेका छन्। आगामी शनिबार, अगस्ट २३ तारिखमा क्वालालम्पुरमा आयोजना हुने तिज विशेष कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन उनी मलेसिया आएका हुन्।
क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि मलेसियास्थित राजदूत नेत्रप्रसाद तिमल्सिनासहित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले मुख्यमन्त्री सिंहलाई स्वागत गरेका थिए।
उक्त कार्यक्रम गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको आयोजनामा हुँदैछ, जसको संयोजन एनआरएनए मलेसियाका अध्यक्ष राकेशप्रसाद महतो नेतृत्वको समूहले गरिरहेको छ।
तिज विशेष कार्यक्रमलाई सांगीतिक र सांस्कृतिक रुपमा आकर्षक बनाउन नेपालबाट चर्चित व्यक्तित्वहरूको सहभागिता पनि रहनेछ। कार्यक्रमको प्रमुख आकर्षणमा नेपाल क्रिकेट संघ (CAN) का उपाध्यक्ष रोशन कुमार सिंह, लोकप्रिय गायिका अञ्जिला रेग्मी, नायिका झरना रिसाल र मोडल मिसल घिमिरे रहनेछन्।
आयोजकका अनुसार मलेसियामा कार्यरत नेपाली समुदायबीच तिजको परम्परा जोगाउँदै, कला–संस्कृति र आपसी सद्भावलाई सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
तस्बिर श्रोत : सामाजिक सन्जाल