मस्कट, ओमान — नेपाली राजदूतावास मस्कटले ओमानस्थित निज्वामा आयोजित घुम्ती राहदानी शिविर तथा राजदूतावासमार्फत नयाँ राहदानीका लागि आवेदन दिएका केही नेपाली नागरिकहरूको विद्युतीय राहदानी (e-Passport) तयार भई आइसकेको जानकारी दिएको छ।
राजदूतावासद्वारा सार्वजनिक सूचनामा उल्लेख गरिएअनुसार संलग्न सूचीमा नाम परेका आवेदकहरूले आफ्नो पुरानो राहदानी र राहदानी शुल्क तिरेको रसिद सहित राजदूतावासमा सम्पर्क गरी नयाँ राहदानी लिन सक्नेछन्।
“आफैँ आउन नसक्ने अवस्थामा, आवेदकको तर्फबाट राहदानी बुझ्न आउने व्यक्तिले मञ्जुरीनामा (authorisation letter) र सम्बन्धित कागजातहरू साथमा लिएर आउनुपर्नेछ,” राजदूतावासद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
त्यसैगरी, राहदानीको लागि आवेदन दिएको मितिबाट ४५ दिनभन्दा बढी समय भइसकेको तर राहदानी प्राप्त नभएको अवस्थामा सम्बन्धित व्यक्तिहरूलाई तुरुन्तै राजदूतावासमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ।
ओमानमा कार्यरत नेपालीहरूको सहजताको लागि राजदूतावासले राहदानी वितरण कार्यलाई व्यवस्थित रूपमा अघि बढाइरहेको जनाएको छ।