काठमाडौं, १० भदौं । नेपाली चलचित्रकी सदाबहार सुन्दर अभिनेत्री करिश्मा मानन्धरले हरितालिका तीजको अवसरमा शुभकामना सन्देश दिँदै नारी शक्ति, साहस र स्वतन्त्रतालाई सम्मान गर्न आह्वान गरेकी छन्।
मानन्धरले सामाजिक सञ्जालमार्फत लेखेकी छन्, “परम्परा र संस्कृतिसँगै यो पर्वले नेपाली महिलाको पीडा मात्र होइन, उनीहरूको शक्ति, साहस र स्वतन्त्रताको यात्रालाई पनि उजागर गरोस्। यो उत्सवले बुझाओस्— महिला संस्कृतिको आभूषण मात्र होइनन्, समाजको आधारस्तम्भ हुन्।”
उनले थपिन्, “तीज केवल सांस्कृतिक पर्व मात्र होइन। यसले समाजमा महिलाको योगदान, अधिकार र सशक्तिकरणको महत्वलाई स्मरण गराउँछ। महिलाको सम्मान र सशक्तिकरण बिना समाजको वास्तविक विकास सम्भव छैन। हाम्रो संस्कृति र परम्पराले पनि यसलाई आत्मसात् गर्नुपर्छ।”
मानन्धरको यो सन्देश सार्वजनिक भएपछि सामाजिक सञ्जालमा धेरैले महिलाको भूमिकाबारे चर्चा गर्दै नारी सशक्तिकरणलाई अझै सबल बनाउनुपर्ने आवाज उठाएका छन्।