मलेसियामा प्रवेश रोक : बसोबास र फर्कने टिकट नदेखाएका १०४ विदेशी अलपत्र

everest kitchen

क्वालालम्पुर – मलेसियामा १०४ जना विदेशी नागरिकलाई प्रवेश अनुमति नदिइएको छ। उनीहरूले भ्रमणको स्पष्ट उद्देश्य, उचित बसोबासको प्रमाण वा फर्कने टिकट प्रस्तुत गर्न नसकेका कारण प्रवेश निषेध गरिएको हो।

मलेसियन बोर्डर कन्ट्रोल एन्ड प्रोटेक्सन एजेन्सी (MCBA) का अनुसार अगस्ट २९ का दिन क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (KLIA) टर्मिनल १ र २ मा ५४,९४७ अन्तर्राष्ट्रिय आगन्तुकहरूको कागजात जाँच गरिएको थियो। सो क्रममा १०४ जना यात्रुहरूले आवश्यक मापदण्ड पूरा नगरेको पाइएको MCBA ले जनाएको छ।

उनीहरू मध्ये धेरैजसो बंगलादेश, भारत र पाकिस्तानका नागरिक रहेका छन्। प्रारम्भिक अनुसन्धानमा उनीहरूले भ्रमण उद्देश्य स्पष्ट नगरेको, बसोबास वा टिकट प्रमाण नभएको र प्रवेशका लागि प्रस्तुत कारण पनि शंकास्पद रहेको देखिएको छ।

हाल २८८ जना यात्रु प्रवेश निषेध भई KLIA मा अलपत्र परेका छन्, जसलाई फिर्ता पठाउने तयारी भइरहेको MCBA ले जनाएको छ। सोही दिन विमानस्थलमार्फत ३६२ अन्तर्राष्ट्रिय उडान आगमन र ३६१ अन्तर्राष्ट्रिय उडान प्रस्थान भएका थिए।

MCBA का अनुसार, “देशको सुरक्षा र आवागमन व्यवस्थालाई मजबुत बनाउन आवश्यक मापदण्ड पूरा गर्ने यात्रुलाई मात्र प्रवेश दिने कार्य निरन्तर रूपमा कडाइका साथ गरिनेछ।”

PIC COURTESY MCBA