बारामा च्याउ टिप्न गएका व्यक्तिमाथि बाघको आक्रमण, एक जनाको मृत्यु

everest kitchen

इन्दीप कोइराला

बारा, २२ भदौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ स्थित सिमरामा आइतबार बिहान भएको बाघको बआक्रमणमा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ का ५८ वर्षीय छेवाङ्ग लामा रहेका छन ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार लामा बिहान करिब ७ बजे च्याउ टिप्न प्रगतिशील सामुदायिक वनतर्फ गएका बेला बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट गम्भीर घाइते भएका लामाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घाँस काट्न गएका अन्य स्थानीयले घटनास्थलमा शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । मृतक लामाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको इलाका प्रहरीले जनाएको छ ।

यसअघि पनि बारा जिल्लामा बाघको आक्रमणले जनधनको क्षति पुर्‍याउँदै आएको छ । केही समय अघि मात्रै बारा अम्लेखगञ्जमा बाघको आक्रमणबाट तीन जनाको ज्यान गएको थियो । यसरी निरन्तर बाघ आक्रमणका घटना बढ्दै गएपछि स्थानीयवासी आतंकित बनेका छन ।

उक्त घटनापछि बाघलाई नियन्त्रणमा लिन विभिन्न निकाय सक्रिय भएका छन । पर्सा राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय बारा, चितवनबाट आएका प्राविधिक टोलीसँगै राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्रका विशेषज्ञ, नेपाल प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ ।

बाघलाई नियन्त्रणमा लिन हात्तीको प्रयोगसहित डार्टमार्फत बेहोस पार्ने योजना बनाइएको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए ।

स्थानियवासीले पटक–पटक निकुञ्ज र सम्बन्धित निकायसँग मानव बस्ती नजिक बाघको गतिविधि बढ्दै गएको भन्दै सुरक्षा व्यवस्था कडा बनाउन माग गरेका छन ।