हङकङ, भदौ २७ – हालै नेपालमा भएको ‘Gen-Z’ आन्दोलनका क्रममा ज्यान गुमाएका साहसी र देशभक्त युवाहरूको सम्झनामा हङकङमा बसोबास गर्ने नेपाली समुदायले सामूहिक श्रद्धाञ्जली तथा शोक सभा आयोजना गर्ने भएको छ।
नेपालप्रतिको माया, राष्ट्रियताको भावना र न्यायको पक्षमा उभिएका युवाहरूको बलिदानलाई सम्मान गर्न, हङकङमा रहेका सम्पूर्ण नेपालीहरूलाई एकताबद्ध भएर शोकसभा कार्यक्रममा सहभागी हुन आयोजक संस्थाहरूले हार्दिक अनुरोध गरेका छन्।
कार्यक्रममार्फत दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरिनेछ भने शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिनेछ।
कार्यक्रम विवरण:
-
मिति: १४ सेप्टेम्बर २०२५ (आइतबार)
-
समय: बेलुका ५ बजे देखि ८ बजे सम्म
-
स्थान: चौथो तला, याउ मा तेइ कम्युनिटी हल (Yau Ma Tei Community Hall)
आयोजक संस्थाहरू:
-
गैर-आवासीय नेपाली संघ, हङकङ
-
हङकङ नेपाली महासंघ
-
नेपाली आदिवासी जनजाति महासंघ, हङकङ
-
नेपाल चेम्बर अफ कमर्स, हङकङ
-
अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ, हङकङ
“यो केवल श्रद्धाञ्जली मात्र होइन, न्यायको लागि आवाज हो। नेपालका साहसी युवाहरूको बलिदानलाई हाम्रो मौनताले बेवास्ता गर्न दिनु हुँदैन,” आयोजक संस्थाहरूले संयुक्त रूपमा विज्ञप्तिमा उल्लेख गरेका छन्।
सङ्घीयता, समानता, र भविष्यको अधिकारका लागि सडकमा उत्रिएका युवा पुस्ताको आत्मबलिदानले सम्पूर्ण नेपालीलाई गहिरो पीडा दिएको छ। यस घडीमा, बिदेशमा रहेका नेपाली समुदायले पनि राष्ट्रिय एकता र सहानुभूतिको उदाहरण प्रस्तुत गरिरहेका छन्।