बार्सिलोना, बार्सिलोनाको ग्रासियास्थित Jardin de Hara मा यस वर्ष गैर आवासीय नेपाली संघ (NRNA) स्पेन परिवारले भव्य दुर्गा पूजा आयोजना गर्ने भएको छ।
सङ्घका अनुसार ऐतिहासिक महत्व बोकेको करिब ७० किलो पित्तलबाट निर्मित पवित्र दुर्गा माताको मूर्ति यसपालि पहिलो पटक पूजा अर्चनाका लागि ल्याइने छ। २२ सेप्टेम्बर २०२५ (घटस्थापना)देखि २ अक्टोबर (विजयादशमी)सम्म सञ्चालन हुने यस दुर्गा पूजामा दैनिक चण्डीपाठ, पूजापाठ, फूलमाला अर्पण र महाप्रसाद ग्रहणको व्यवस्था हुनेछ।
पण्डित शास्त्री टिकाराम कंडेल, सागर काफ्ले, कुल प्रसाद गौतम र कमल भण्डारीले दैनिक चण्डीपाठ गर्नेछन्। मन्दिर दर्शन समय बिहान ९:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म रहनेछ।
महाअष्टमीका दिन विशेष कालरात्रि पूजाको आयोजना गरिनेछ, जसको प्रारम्भ राति २१:२० बजे भई २४:०० बजे सम्म चल्नेछ। यस्तै, विजयादशमीको दिन सामूहिक टीका तथा प्रसाद ग्रहण कार्यक्रम हुने सङ्घले जनाएको छ।
एनआरएनए स्पेन परिवारले सबै नेपाली आमा-बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस भव्य दुर्गा पूजामा सहभागी भई धार्मिक, सांस्कृतिक र सामुदायिक एकतालाई अझ सशक्त बनाउन आह्वान गरेको छ।












