मानवियता देखाउनुस भन्दा म माथी नै जाईलागे प्रर्दशनकारी
✍️ सागर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष (राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल)
एक जुगमा एकपटक मात्र आउने दिन जस्तै, जेन्जी आन्दोलन पनि नेपालको इतिहासमा उथलपुथल ल्याउने क्षण बनेर उदायो। भ्रष्टाचारको चरम सीमाले देशलाई अस्तव्यस्त पारेपछि युवा पुस्ता ‘जेन्जी’ भ्रष्टाचारविरोधी आन्दोलनमा सडकमा उत्रियो। यो आन्दोलन केवल राजनीतिक असन्तुष्टिको परिणाम मात्र थिएन, बरु नयाँ युगको सुरुवात गर्ने संकेत थियो। यतिबेला फोटो पत्रकारहरुको भूमिका घटनालाई प्रत्यक्ष प्रमाणमा रूपान्तरण गर्ने अभिन्न कडी बन्न पुग्यो।
आन्दोलनबीचको व्यक्तिगत अनुभव
जेन्जी आन्दोलनको पहिलो दिन म हनुमानढोका परिसरमा ईन्द्रजात्रासम्बन्धी सांस्कृतिक फोटो प्रदर्शनमा व्यस्त थिएँ। तर त्यही बेला आन्दोलनका क्रममा जेन्जी युवायुवतीले प्राण गुमाएको समाचार आइरहेको थियो। साथीहरु रिपोर्टिङका लागि घटनास्थलमा पुगिरहेका थिए, म व्यवस्थापनमा थिएँ।
साँझतिर कर्फ्यू आदेश जारी भएपछि घर फर्किँदै गर्दा न्यूरोड वरिपरि भागदौड मच्चियो। व्यापारी भवनभित्र पस्नासाथ ढोका बन्द भयो। त्यहाँको त्रासदीपूर्ण वातावरण अझै सम्झनामा छ।
भोलिपल्ट आन्दोलन उग्र बन्दै गयो। बानेश्वर, कोटेश्वर, तिनकुने क्षेत्रहरु ज्वलनशील बने। सरकारी भवन, पार्टी कार्यालय, व्यापारिक संरचना जलाइए। प्रहरी चौकी कब्जा गरियो, सुरक्षा सामग्री लुटियो। कतिपय प्रहरीलाई आन्दोलनकारीले आक्रमण गरे भने केहीलाई त्यही भीडले नै बचायो।
मैले एक प्रहरीलाई मार्न खोजिरहेको भिडलाई रोकेर “मानवियता देखाऔं” भनेँ। तर त्यसकै प्रतिफलमा प्रदर्शनकारीकै आक्रोश मेरोतर्फ मोडियो। “हामीलाई मार्नेहरुलाई किन बचाउँछस्?” भन्ने आरोपसहित ममाथि जाइलागे। त्यतिबेला परिस्थितिलाई बुझेर म त्यहाँबाट टाढा हुन बाध्य भएँ।
१. जेन्जी आन्दोलनमा फोटो पत्रकारहरुको भूमिका
फोटो पत्रकारहरुले यो आन्दोलनलाई केवल समाचारका लागि मात्र होइन, इतिहासलाई जीवित राख्ने दस्तावेजका रूपमा उतारे।
- इतिहासको प्रमाण सुरक्षित — आन्दोलन, र्याली, प्रहरी दमन, जनसहभागिता सबैलाई तस्बिरमा उतारी भविष्यका पुस्ताका लागि अमर प्रमाण बनाए।
- हजार शब्द बराबर एक तस्बिर — फोटोले जनचेतना जगायो, आम मानिसलाई आन्दोलनको वास्तविकता फोटोको माध्यमबाट सुसचित गराए ।
- अन्तर्राष्ट्रिय ध्यानाकर्षण — विदेशी सञ्चारमाध्यमसम्म पुगेका तस्वीरहरुले नेपालका घटनालाई विश्व समुदायले प्रत्यक्ष महसुस गर्ने अवसर दिए।
- निष्पक्ष दस्तावेजीकरण — आन्दोलनकारी र सुरक्षाकर्मी दुवै पक्षका गतिविधिलाई निष्पक्ष रूपमा कैद गर्दै फोटो पत्रकारहरु सत्यका साक्षी बने।
- मनोबल र प्रेरणा — संघर्षरत जनतालाई साहसी तस्वीरले आत्मबल र उत्साह प्रदान गर्यो।
२. फोटो पत्रकारहरुले भोगेका समस्या
जेन्जी आन्दोलनमा फोटो पत्रकारिताको साहससँगै चुनौती पनि अपार थिए।
- शारीरिक जोखिम – लाठीचार्ज, अश्रुग्यास, गोलीको बीचमा काम गर्नुपर्दा जीवन नै जोखिममा पर्यो।
- उपकरणको क्षति – भिड, पानीको फोहरा, अश्रुग्यास आदिबाट क्यामेरा र अन्य सामग्री बिग्रने वा हराउने समस्या भयो।
- दबाब र धम्की – संवेदनशील तस्वीर खिच्दा वा प्रकाशन गर्दा पत्रकारहरुले धम्की, सेन्सरशिप वा राज्यको दबाब भोग्नुपर्यो।
- आर्थिक बोझ – उचित तलब, बीमा वा सहयोग अभावमा चोटपटक वा उपकरण क्षतिपछि आर्थिक संकट झेल्नुपर्यो।
- सुरक्षाको कमी – सुरक्षात्मक पोशाक, कानुनी संरक्षण वा विशेष अधिकार नहुँदा फोटो पत्रकारहरु पूर्ण असुरक्षित बने।
अन्त्यमा…
जेन्जी आन्दोलन नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक मोड थियो। यसलाई प्रत्यक्ष प्रमाणमा रूपान्तरण गर्ने, विश्व समुदायसम्म पुर्याउने, जनचेतनामा जगाउने काममा फोटो पत्रकारहरुको भूमिका अपरिहार्य रह्यो।
तर, उनीहरुले भोगेका जोखिम र समस्याले नेपालमा फोटो पत्रकारिताको सुरक्षित र सम्मानित अभ्यास अझै चुनौतीपूर्ण रहेको स्पष्ट देखाउँछ। भविष्यमा फोटो पत्रकारको सुरक्षा, कानुनी संरक्षण र आर्थिक सुविधा सुनिश्चित गर्नु अत्यावश्यक छ।