जोहर सरकारले वैदेशिक श्रमिकका लागि सुरक्षित आवास सुनिश्चित गर्न कडाइका साथ अनुगमन गर्ने

everest kitchen

जोहर, मलेसियाको जोहर राज्य सरकारले वैदेशिक श्रमिकहरूलाई सम्मानजनक, सुरक्षित र स्वच्छ आवास उपलब्ध गराउन रोजगारदाताहरुले कानुनअनुसार पालना गरेको वा नगरेको बारेमा नियमित अनुगमन गर्ने जनाएको छ।

जोहर राज्यको लगानी, व्यापार, उपभोक्ता मामिला तथा मानव संसाधन समिति अध्यक्ष ली टिङ हानले श्रमिकहरूलाई भीडभाड नभएको, बस्न योग्य वातावरणको आवश्यकता हुने उल्लेख गर्दै सबै रोजगारदाताहरुले सरकारले तोकेको मापदण्ड पालना गर्नुपर्ने बताए।

उनका अनुसार अहिलेसम्म जोहर बारु, केम्पास, पासिर गुदाङ र कुलाइका औद्योगिक क्षेत्रमा अनुगमन गरिएको छ।

लीले भर्खरै पोन्टियनको पेकान नानस औद्योगिक पार्कमा PGB Hostel Phase 1 को उद्घाटन कार्यक्रममा बोल्दै भने, “रोजगारदाताहरुले सरकारद्वारा तोकिएका कानुन, नियम र आवश्यकताहरू पालना गरेको सुनिश्चित गर्न हामी निरन्तर अनुगमन गर्छौं।”

गत अगस्ट २७ मा पोन्टियनमा भएको आगलागीमा दुई थाई नागरिकको ज्यान गएको र चार जना घाइते भएको घटनाको प्रसङ्ग उल्लेख गर्दै उनले भने, “यदि रोजगारदाताले उचित आवास व्यवस्था गरेको भए यस्तो दुर्घटना हुनै पर्दैनथ्यो।”

उनले श्रमिकका लागि शौचालय, भान्सा, बेड लगायत न्यूनतम सुविधा भएको सुरक्षित र स्वच्छ आवास अनिवार्य बनाउन रोजगारदाताहरुलाई आग्रह गरे।

यो अनुगमन Workers’ Minimum Standards of Housing and Amenities Act 1990 (Act 466) अन्तर्गत गरिएको हो। कानुन उल्लङ्घन गर्ने रोजगारदाताहरुले प्रति अभियोग अधिकतम ५० हजार रिङ्गिटसम्म जरिवाना भोग्नुपर्ने चेतावनी पनि उनले दिए।

लीका अनुसार समर्पित आवास परियोजनाले वैदेशिक श्रमिकहरूले सामान्य घर भाडामा लिनुपर्ने अवस्था हटाउँछ र यसले सुरक्षासम्बन्धी तथा सामाजिक समस्या कम गर्नेछ।

जोहर–सिंगापुर विशेष आर्थिक क्षेत्र (JS-SEZ) लागू भइसकेको अवस्थामा यस्ता श्रमिक आवासको माग अझै बढ्ने उनले बताए।

राज्य सरकार र स्थानीय निकायहरूले श्रमिकका लागि होस्टल वा आवास विकास गर्न इच्छुक कम्पनी वा पक्षहरूसँग पूर्ण सहयोग गर्ने पनि उनले उल्लेख गरे।