शहीद श्रीयमका बुबा गणेश भन्छन् : ‘शहीद परिवार एक ठाउँमा जुटौं, सिंहदरबार जाऔं’

everest kitchen

काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएका १९ वर्षीय श्रीयम चौलागाईंका पिता गणेश प्रसाद चौलागाईंले शहीद परिवारलाई संगठित हुन आह्वान गरेका छन् । उनले शहीद परिवारका सबै सदस्यहरूलाई एकजुट भई साझा आवाज उठाउन आग्रह गरेका हुन् ।

‘अब हामी शहीद परिवारका सबै सदस्यहरू एक ठाउँमा जम्मा हुनुपर्छ,’ चौलागाईंले भने, ‘हामीले सबैको पीडा सुनौं, छलफल गरौं र एउटा समिति गठन गरौं । कोही सक्षम व्यक्ति छन् भने नेतृत्व गरौं, तर न त जेनजीको पछि लागौं, न सरकारको ।’

उनका अनुसार अबको आन्दोलन वा मागहरूको नेतृत्व शहीद परिवार आफंैले सम्हाल्नुपर्छ । ‘हामी आफैंले तय गरौं कि हाम्रो माग के हो, त्यसपछि सिंहदरबार जाऔं, मन्त्रीहरूलाई भेटौं, अनि हाम्रो आवाज राखौं । सरकारले नसुने सिंहदरबार अगाडि धर्ना बस्न तयार हौंैं,’ उनले भने ।

चौलागाईंले अहिलेको सरकारलाई अघिल्ला सरकारहरूसँग तुलना गर्दै भने, ‘सरकारले शहीदको आवाज सुन्दैन् अन्तरिम सरकार पनि पहिलेको जस्तै हो ।’

उनले जेनजी आन्दोलनको नेतृत्वसम्बन्धी अन्योल हटाउन पनि आग्रह गरे । ‘पहिलो नम्बरमा स्पष्ट हुनुपर्छ, जेनजीको आधिकारिक नेतृत्व को हो ? त्यो जेनजीले नै स्पष्ट पार्नुपर्छ,’ चौलागाईंले भने ।

उनले थपे, ‘अब देश बनाउने काम सबै मिलेर गरौं । युवाहरूले रोजगार पाउनुपर्छ । तर सरकारको पहिलो प्राथमिकता शहीद परिवार हुनुपर्छ । जसको रगत बग्यो, पहिला उनीहरूलाई खुसी बनाउनु सरकारको कर्तव्य हो ।’

चौलागाईंले भोलि असोज १८ गते, शनिबार बिहान १० बजे शहीद परिवारका तर्फबाट सिंहदरबार जाने कार्यक्रम रहेको जानकारी पनि दिए । साथै सबै शहीद परिवारका प्रतिनिधिहरुलाई पनि सिंहदरबार अगाडि भेला हुन आग्रह गरेका छन् ।