काठमाडौं । पाँचथर, कुम्मायक गाउँपालिका–३ कार्तिकेस्थित तमोर करिडोर सडक खण्डमा ताप्लेजुङबाट धारानतर्फ जाँदै गरेको मे.१ ज ३०५५ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडकदेखि करिब तीन सय मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार तीन जना पुरूष र तीन जना महिला गरी ६ जनाको मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका गाडीमा सवारमध्ये ५ जनालाई उपचारको लागि धरानतर्फ र १ जनालाई जिल्ला अस्पताल फिदिमतर्फ पठाइएको छ ।
काठमाडौं, टोखा नगरपालिका–३ शेर्पा पेट्रोल पम्प नजिक सडकमा बा.प्र–०२–०४९ प ०१९४ नम्बरको मोटरसाइकल अनियान्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक टोखा नगरपालिका–२ चण्डेश्वरी बस्ने ३२ वर्षीय सुरेश डंगोलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रेण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दोलखा, कालिन्चोक गाउँपालिका–९ सुन्द्रावतीस्थित सडकमा चरिकोटबाट लापिलाङतर्फ जाँदै गरेको बा.प्र.०१–०२६ च ०८३६ नम्बरको बलेरोबाट खसेर बलेरोमा सवार बैतेश्वर गाउँपालिका–३ बस्ने ३० वर्षीय सरोज दाहालको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल शाखा अस्पताल दोलखा हुँदै मध्यपुर थिमी अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, उर्लाबारी नगरपालिका–९ भोटेपुलस्थित सडकमा प्रदेश १–०२–०५७ प ६०९० नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक उर्लाबारी नगरपालिका–२ बस्ने ४२ वर्षीय प्रेम राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको अरनिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सप्तरी, तिरहुत गाउँपालिका–१ धनपुरीस्थित सडकमा काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २५८२ नम्बरको हाईसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीया जगिया देवी सुढी पंजियारको शुक्रबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा, मिथिला नगरपालिका–६ ढल्केवरस्थित सडकमा जनकपुरबाट बर्दिवासतर्फ जाँदै गरेको म.प्र.०२–००७ प ९९८२ नम्बरको मोटसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक मिथिला नगरपालिका–३ बस्ने २३ वर्षीय सन्तोष महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
कपिलवस्तु, शिवराज नगरपालिका–१ बनकसबासस्थित सडकमा धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ख ५७०३ नम्बरको बस अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा बसमा सवार डोटी दिपायल सिलगढी नगरपालिका–१ टिखा बस्ने १८ वर्षीया सरस्वती खड्काको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवारमध्ये ३ जनाको सोही अस्पतालमा, १२ जनाको चौराहा अस्पताल बुटवलमा र ९ जनाको सन्जिवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका–३ बोराडाँडीस्थित सडकमा धनगढीबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख १९०७ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका–४ बस्ने ६० वर्षीय गणेश शाहीको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । बसले पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भई दुर्घटना समेत भएको थियो ।
दुर्घटनामा घाइते भएका बसमा सवार २० जनामध्ये ९ जनाको मायामेट्रो अस्पतालमा, ४ जनाको नवजिवन अस्पतालमा, ४ जनाको स्वस्तिक कार्डियो अस्पतालमा र ३ जनाको निसर्ग अस्पतालमा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।