चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा सातवटा सवारीसाधन ठोक्किँदा २० जनाभन्दा बढी घाइते

everest kitchen

रामेछाप । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा शनिबार बिहान सात वटा सवारीसाधन आपसमा ठोक्किँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार दुर्घटना बिहान करिब ७ः३० बजे भएको हो । मुग्लिनतर्फबाट नारायणगढतर्फ आउँदै गरेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस एक आपसमा ठोक्किएपछि पछाडिपछाडि आएका अन्य सवारीसाधनहरू पनि दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।

बसको पछाडि रहेको ना ७ ख ९६०७ नम्बरको टेलर, त्यसपछि बा प्र ०६–००१ ग ०४८४ नम्बरको इलेक्टिक माइक्रो, ग २ ख १६२६ नम्बरको अर्को बस, ना ३ च ३२५६ नम्बरको बलेरो र बिएबी ८४७० नम्बरको कार समेत एकैसाथ ठोक्किएका थिए ।

दुर्घटनामा २० जनाभन्दा बढी यात्रु घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये १३ जनाको नेसनल सिटी अस्पतालमा, चार जनाको चितवन मेडिकल कलेजमा र चार जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि सडक केही समय अवरुद्ध भएको थियो। अहिले भने सवारी आवागमन आंशिक रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ । बिहानको समयमा हुस्सुको कारण दुर्घटना भएको हो वा ब्रेक फेल  भएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।