न्युक्यासलको ‘लेकाली देउसी भैलो’मा नेपाली समुदायको ठूलो सहभागिता

everest kitchen

न्युक्यासल (अष्ट्रेलिया) – लेकाली मार्ट न्युक्यासलले आयोजना गरेको ‘लेकाली देउसी भैलो कार्यक्रम’मा करिब २५० जना नेपालीहरुले सहभागिता जनाएका थिए।। कार्यक्रमले अष्ट्रेलियामा बसोबास गर्ने नेपालीबीच सांस्कृतिक एकता र समुदायिक सम्बन्ध सुदृढ गर्ने उद्देश्य राखेको थियो।

कार्यक्रमको सुरुवात रोशन घिमिरेले प्रस्तुत गरेको ‘Acknowledgment to Country’ र GENZ आन्दोलनका सहिदप्रति श्रद्धाञ्जलिबाट गरिएको थियो। यसले कार्यक्रमलाई भावनात्मक र सम्मानपूर्ण बनाएको सहभागीहरूले बताएका छन्।

स्थानीय गायक निशान ढकालको नेतृत्वमा विविध सांस्कृतिक प्रस्तुति, देउसी–भैलो गीत, नृत्य तथा खुला नाचघरसमेत प्रस्तुत गरिएको थियो। कार्यक्रमको सञ्चालन प्रितम श्रेष्ठ र बिनोद ह्योजले गरेका थिए। तिहारको अवसरमा आयोजित सो कार्यक्रमले समुदायबीच एकता, खुशी र मिलनको सन्देश फैलाएको सहभागीहरूको भनाइ छ।

कार्यक्रम संयोजक तथा लेकाली मार्ट न्युक्यासलका सह–संस्थापक सम्राट कंडेलले अपेक्षाभन्दा धेरै उपस्थिति भएको बताए। “यहाँको नेपाली समुदायले संस्कृति र आपसी सम्बन्धलाई कति माया गर्छ भन्ने कुरा यो उपस्थितिले देखायो,” उनले भने।

कार्यक्रममा संकलित रकम GENZ आन्दोलनका क्रममा घाइते भएका सुर्खेतका सन्तोष बोहराको उपचारका लागि यम अधिकारीद्वारा सुरु गरिएको ‘GoFund’ अभियानमा सहयोगस्वरूप हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।

दर्शक सन्तोष अर्यालका अनुसार कार्यक्रम आत्मीय र रमाइलो भएको थियो। उनका अनुसार दुई सहभागीले लगाएको ‘लंगुर बुर्जा’ स्टलले घरको माहोल झल्काएको थियो।

कार्यक्रमको अन्त्यमा होस्ट प्रितम श्रेष्ठ र बिनोद ह्योजले GENZ सहिदहरूलाई समर्पित ‘सम्बोधन’ गीत प्रस्तुत गर्दा हलमा उपस्थितले मोबाइलको बत्ती बालेर सहिदप्रति श्रद्धा व्यक्त गरेका थिए।

अपरेसन म्यानेजर साहन श्रेष्ठको संयोजनमा सम्मानपत्र, गिफ्ट भौचर र स–साना उपहारहरू योगदानकर्ता र कलाकारहरूलाई पूर्व अध्यक्ष बाबुराज कडरिया र लेकाली न्युक्यासलका निर्देशक जेवन न्यौपानेले वितरण गरेका थिए।

लेकाली देउसी भैलो २०२५ ले अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायबीच सांस्कृतिक भावना र एकताको सन्देश फैलाएको आयोजकले जनाएको छ।