बुकिट मर्टाजाम (बर्नामा) — मलेसियाको कम्पुङ सेकुला जुरु क्षेत्रमा एक महिला र उनकी छोरीको हत्या प्रकरणमा पक्राउ परेका तीन नेपाली पुरुषलाई सात दिनका लागि थुनामा राखिएको छ।
पेनाङका प्रहरी प्रमुख दातुक अजिजी इस्माइलका अनुसार, बुकिट मर्टाजाम मजिस्ट्रेट अदालतले शनिबारदेखि अक्टोबर ३१ सम्म थुनाको आदेश दिएको हो। उनीहरूलाई मलेसियाको दण्ड संहिता धारा ३०२ (हत्या) अन्तर्गत अनुसन्धानका लागि थुनामा राखिएको बताइएको छ।
अजिजीका अनुसार, पक्राउ परेकामध्ये एक जनालाई मुख्य आरोपी मानिएको छ। ती आरोपी आप्रवासन कार्यालयमा विदेश फरार हुने प्रयासका क्रममा पक्राउ परेका हुन् भने बाँकी दुई जनालाई बुकिट टेङाहस्थित घरबाट पक्राउ गरिएको हो।
गत शनिबार ५१ वर्षीया सरिया चे हिन र उनकी ११ वर्षीया दत्तक छोरी नुर आफ्रिना अलिसा अब्दुल रहिमको शव घरभित्र फेला परेको थियो। सरियाको शव भुइँतलाको भान्छामा, छोरीको शव भने माथिल्लो तलामा भेटिएको थियो।
घटनापछि प्रहरीले पीडित महिलाका ५७ वर्षका श्रीमान्सहित तीन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो।
मलेसियाली सञ्चार संस्था बर्नामाका अनुसार, हत्या प्रकरणबारे थप अनुसन्धान जारी छ।










