क्वालालम्पुर। मलेसियामा कार्यरत धादिङका गणेश मगरलाई स्वास्थ्य समस्या भएपछि लाङ्घालि चुलोको पहलमा नेपाल फर्काइएको छ।
करीब ११ वर्षअघि जोहोरस्थित एक कम्पनीमा काम गर्न मलेसिया पुगेका मगर पछिल्ला केही वर्षदेखि स्वतन्त्र रूपमा विभिन्न काम गर्दै आएका थिए। तर, पछिल्ला महिनाहरूमा कलेजोमा समस्या देखिएपछि, उनका आँखा पहेंलो हुने र अनुहारमा बिबिरा देखा पर्ने लक्षण देखिएको थियो।
स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि र आर्थिक समस्या थपिएपछि मगरले आफ्नो घर फर्किन इच्छा व्यक्त गरेका थिए। उनले क्वालालम्पुरस्थित लाङ्घालि चुलोका सञ्चालक गोकर्ण आलेसँग सम्पर्क गरी सहयोगको याचन गरेका थिए।
गणेशको पारिवारिक अवस्था कमजोर रहेकाले लाङ्घालि चुलोले सहयोगका लागि पहल गरेको थियो।
सहयोगका क्रममा नेपाली दूतावासले निशुल्क ट्राभल डकुमेन्ट र फिङ्गर प्रक्रिया सहज बनाइदिएको थियो भने लाङ्घालि चुलोले फिङ्गर शुल्क आरएम ५२० र हवाइ टिकटको सम्पूर्ण खर्च बेहोरेको थियो।
गणेश मगर अक्टोबर २९ मा नेपाल एयरमार्फत काठमाडौं पुगेका छन्। नेपाल पुगेपछि उनले सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै भने, “म नेपाल आइपुगेको छु। उपचार गरेर ठिक भएपछि नेपालमै केही गर्ने योजना बनाएको छु। अबदेखि गल्ती वा कमजोरी दोहोर्याउने छैन।”
लाङ्घालि चुलोका अर्का सञ्चालक सुन्दर आलेका अनुसार बिरामीको अवस्थाबारे अन्य संघसंस्थाहरूसँग पनि सम्पर्क गरिएको थियो, तर कुनै जवाफ नआएपछि अन्ततः संस्थाले स्वतन्त्र रूपमा सबै खर्च व्यहोरी उनलाई नेपाल पठाएको हो।
सुन्दर आलेले भने, “लाङ्घालि चुलोले अघिल्ला वर्षहरूमा पनि समस्या परेका नेपालीहरूलाई सहयोग गर्दै आएको छ। हामी आगामी दिनमा पनि मलेसियामा समस्यामा परेका नेपालीहरूको सहायतामा सदैव तत्पर रहनेछौं।”
२८ वर्षीय गणेश मगरको अहिले काठमाडौंमा उपचार प्रक्रिया सुरु गर्ने तयारी भइरहेको बताइएको छ।















