तीन दिनसम्म देशभर वर्षा र हिमपातको सम्भावना, चक्रवात ‘मोन्था’ को प्रभाव

everest kitchen

काठमाडौं। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन (२०८२ कार्तिक १३, १४ र १५ गते) का लागि देशभर वर्षा र हिमपातको सम्भावना रहेको भन्दै मौसमसम्बन्धी चेतावनी जारी गरेको छ।

महाशाखाका अनुसार हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव रहेको छ। साथै, पश्चिमी वायूको असर र अरव सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव देखिएको छ।

यस कारण देशका अधिकांश भू-भागमा आंशिकदेखि पूर्ण बदली रहने र विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ।

प्रदेशगत मौसम विवरण

  • कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायतका पहाडी भू-भागमा पूर्ण बदली रहनेछ।

  • तराई क्षेत्रहरूमा साधारणतया बदली रहनेछ।

  • कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा, साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ।

  • कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा हुन सक्नेछ।

  • देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम हिमपात, साथै कोशी, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ।

  • कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा समेत हुने चेतावनी जारी गरिएको छ।

मौसम महाशाखाले सम्भावित भारी वर्षा र हिमपातका कारण पहिरो, चट्टान खस्ने, हिँडडुल र यातायातमा अवरोध, तथा विमान उडानमा असर पर्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ।

कृषकहरूलाई पनि खेतबालीको सुरक्षामा ध्यान दिन र उच्च पहाडी क्षेत्रमा बसोबास गर्नेहरुलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।