ओसाका (जापान)। टोकियोस्थित नेपाली राजदूतावासको प्रमुख आयोजनामा तथा गैरआवासीय नेपाली संघ जापान, क्षेत्रीय समिति ओसाका र स्थानीय संघ–संस्थाहरूको सहकार्यमा ओसाका शहरमा तीनदिने बृहत् घुम्ती कन्सुलर शिविर सम्पन्न भएको छ।
शिविरमार्फत राहदानी नवीकरण, कागजात प्रमाणीकरण, नागरिकता तथा अन्य दूतावासीय परामर्शलगायतका विविध कन्सुलर सेवाहरू प्रदान गरिएको दूतावासले जनाएको छ।
राजदूतावासका अधिकारीहरूको टोलीले स्थलमै सेवा प्रदान गर्दा जापानका विभिन्न सहरबाट आएका नेपालीले सहज रूपमा सेवा प्राप्त गरेको प्रतिक्रिया दिएका छन्।
तीन दिनसम्म सञ्चालन भएको उक्त शिविरबाट करिब ९५० भन्दा बढी सेवाग्राहीहरूले प्रत्यक्ष लाभ लिएको दूतावासले जनाएको छ।
यस प्रकारका घुम्ती शिविरहरूले टोकियो बाहिर बसोबास गर्ने नेपाली समुदायलाई आवश्यक दूतावासीय सेवाहरू सजिलै प्राप्त गर्न मद्दत पुग्ने बताइएको छ।











