सुदर्शन खड्का बने कोशी प्रदेशसभाको सचिव, नौ महिनाको रिक्तता अन्त्य

everest kitchen

विराटनगर । करिब नौ महिनादेखि नेतृत्वविहीन रहेको कोशी प्रदेशसभाले अन्ततः नयाँ सचिव पाएको छ । संघीय संसद सचिवालयका पूर्वसचिव सुदर्शन खड्का प्रदेशसभाका सचिवमा नियुक्त भएका छन् ।

सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले खड्कालाई सचिवमा नियुक्त गरेका हुन् । बुधबार दिउँसो उनले प्रदेशसभाको कटहरीस्थित नयाँ कार्यालयमा सभामुख विष्टसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।

पूर्वसचिव गोपालप्रसाद पराजुली सर्वोच्च अदालतबाट भ्रष्टाचारको कसुरमा दोषी ठहर भएपछि प्रदेशसभा सचिवालय गत नौ महिनादेखि नेतृत्वविहीन थियो । पशुपति क्षेत्र विकास कोषको जग्गामा अवैध बालुवाखानी सञ्चालन गर्न अनुमति दिएको अभियोगमा पराजुलीलाई अदालतले ६ वर्ष कैद र जरिवानाको सजाय सुनाएको थियो । त्यसपछि उनी स्वतः पदमुक्त भएका थिए ।

यसबीच, कोशी प्रदेशसभा बुधबारदेखि कटहरीस्थित फलफूल तथा कृषि थोक बजारको भवनमा सारिएको छ । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा अराजक समूहले प्रदेशसभा भवन र सचिवालयमा आगजनी गरेपछि पुरानो भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो ।

भवन ध्वस्त बनेपछि कटहरीस्थित फलफूल तथा कृषि थोक बजारको भवनलाई अस्थायी रूपमा प्रयोग गर्ने निर्णय गरिएको हो । प्रदेशसभाका कर्मचारीका अनुसार नयाँ स्थलमा आवश्यक संरचना र प्रशासनिक तयारी भइरहेको छ ।

‘प्रशासनिक काम सञ्चालनका लागि सुरुवात भइसकेको छ ।’ एक कर्मचारीले बताए ।

नवनियुक्त सचिव खड्काको आगमनसँगै कोशी प्रदेशसभाको प्रशासनिक रिक्तता अन्त्य भएको छ ।