विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वमन्त्री इन्द्रबहादुर आङ्बोले प्रयोग गर्दै आएको सरकारी गाडीको ठक्करबाट बिहीबार मोरङमा एक युवकको मृत्यु भएको छ ।
मोरङको ग्रामथान गाउँपालिका–५ ककडमाडीमा को १ झ ६५० नम्बरको स्कर्पियो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा ग्रामथान–५ का अन्दाजी ३५ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटना दिउँसो करिब १२ः१५ बजे विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको स्कर्पियोले बाटो क्रस गर्दै गरेको को ९ प ७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करपछि गम्भीर घाइते भएका चौधरीलाई स्थानीयले उद्धार गरी उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पु¥याएका थिए । उपचारका क्रममा दिउँसो ३ः१५ बजेतिर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार दुर्घटना हुँदा नेता आङ्बो स्वयं गाडीमा सवार थिएनन् । ‘गाडी उनका आफन्तलाई लिन जाँदै गरेको समयमा दुर्घटना भएको हो ।’ उनले बताइन् ।
दुर्घटनाका बेला गाडी तीव्र गतिमा रहेको स्थानीयले बताएका छन् । गाडी चालक पाँचथर फाल्गुनन्द गाउँपालिका–१ का अन्दाजी ४० वर्षीय गम्भीरमान सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
दुर्घटनापछि नेता आङ्बोले सामाजिक सञ्जालमार्फत मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति संवेदना प्रकट गरेका छन् । उनले लेखेका छन्, ‘दुःखद दुर्घटनामा परी निधन हुनुभएको प्रवेश चौधरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै कानुनी प्रक्रिया र क्षतिपूर्ति उपलब्ध गराउने विषयमा मेरो पूर्ण साथ रहनेछ ।’












