काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा म्यारिज ब्यूरो चलाएको आरोपमा चिनियाँ चार जना पक्राउ परेका छन् ।
व्यवसायसम्बन्धीको भिसा लिएर आएका उनीहरूले म्यारिज ब्यूरो चलाएको भन्ने विशेष सूचनाका आधारमा खटिएको अध्यागमन विभागको उनीहरूलाई पक्राउ गरी अहिले हिरासतमा राखेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । तिवारीले उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरी अहिले अनुसन्धानकै क्रममा रहेको पनि जानकारी दिए ।
उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीहरूलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा के हो भनेर अनुसन्धान जारी रहेको छ ।
उनीहरूले विवाहका लागि केही महिलाहरूलाई चीनसमेत पठाइसकेको खुल्न आएको छ । पक्राउ पर्नेमा एक महिला र तीन पुरुष रहेको र त्यसमध्ये केही व्यक्ति भने लामो समयदेखि फरकफरक भिसामा आउजाउ गरेको पाइएको पनि विभागले बताएको छ ।










