काठमाडौं । भारतको आन्ध्र प्रदेशको राम्पाचोडावरम वन क्षेत्रमा सुरक्षा बल र माओवादीबीच भएको ताजा भिडन्तमा कम्तीमा छ जना माओवादी मारिएका छन् । यो घटना शीर्ष माओवादी नेता मद्वी हिड्मा मारिएको एक दिनपछि भएको हो । इन्टेलिजेन्स एडीजी महेशचन्द्र लड्डाका अनुसार माओवादीहरू छत्तीसगढ र तेलङ्गानाबाट आन्ध्र प्रदेश प्रवेश गर्न खोजिरहेका छन् र यसका लागि कडा निगरानी राखिएको छ ।
१७ नोभेम्बरदेखि सञ्चालन गरिएको अपरेसनअन्तर्गत १८ तारिख बिहान भएको भिडन्तमा केन्द्रीय समिति सदस्य हिड्मासहित पाँच माओवादी मारिएका थिए । यता, प्रहरीले गत केही दिनमा एलुरु, काकिनाडा र कोनसेमा जिल्लाबाट कुल ५० जनालाई पक्राउ गरेको छ, जसमा स्पेशल जोनल कमिटी सदस्यदेखि लिएर प्लाटुन, डिभिजन र क्षेत्रीय समिति सदस्यसम्म सामेल छन् ।
उनीहरूबाट ठूलो मात्रामा हतियार र विस्फोटक समेत बरामद गरिएको छ । छत्तीसगढका सुकमा, विजापुर, नारायणपुर र बस्तर जिल्लामा बढ्दो सुरक्षा दबाब तथा हिड्माको मृत्युपछि माओवादीहरू आन्ध्र प्रदेश प्रवेश गरी शहरी क्षेत्रमा लुकिएर पुनः संगठन निर्माण र भविष्यका कारबाही योजना बनाउन खोजेको प्रहरीले जनाएको छ ।
डीजीपी हरीश कुमार गुप्ता, एडीजी महेश कुमार लड्डा र सिआइबी प्रमुख रामकृष्णाको समन्वयमा चलाइएको यो बहु–एजेन्सी अपरेसन सफल भएको दाबी गरिएको छ ।











