
टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौँ अधिवेशनको नोभेम्बर २३ मा टोकियोमा हुदै छ । अधिवेशनबाट आगामी ३ वर्षे कार्यकालका लागि नयाँ समिति चयन गर्न लागिएको हो ।
शाखाको बिहीबार औपचारिक रूपमा कार्यतालिका प्रकाशन गर्दै अधिवेशनको तयारी तीव्र पारेको जनाएको छ । आईतवार हुने अधिवेशनमा नयाँ कार्यसमिति बन्ने उक्त कार्य समितिमा अध्यक्षमा रबिन्द्र श्रेष्ठ “गोर्खाली” र राजन गौतमले पद दावी गरेका छन् ।
यद्यपि सर्वसम्मत कार्यसमिति चयन गर्नका लागि आवश्यक पहल गर्न संस्थापक अध्यक्ष तिलक मल्ल संयोजक, निवर्तमान अध्यक्ष मोहन घले, अध्यक्ष शान्त पहरी र खगराज गौतम सम्मिलित समितिले प्रयास गरे पनि सहमति हुन नसकेपछि निर्वाचन मार्फत शाखाले पदाधिकारी चयन गर्ने तयारी थालेको हो ।
अध्यक्षका प्रत्यासी रबिन्द्र श्रेष्ठ “गोर्खाली” ले प्रजातान्त्रिक, लोकतान्त्रिक, प्रगतिशील, समावेशी, अग्रगामी तथा व्यवसायिक पत्रकारहरुको तर्फबाट आफ्नो उमेद्वारी दिएको बताए । सहमति र सहकार्यकासाथ जापानवासी नेपाली पत्रकारहरुको पेशागत हकहित सुरक्षाका सवाल र आम नेपाली समुदायको आवाजमा भूमिका खेल्न सक्ने नेतृत्वको रुपमा आफुलाई उभ्याउने गरि उम्मेदवारी दिएको बताए ।
निवर्तमान कार्यसमितिमा आफू उपाध्यक्षमा रहेर सफल कार्यसम्पादन गरेकोले पनि अध्यक्षको लागि आफ्नो जिम्मेवारीको पालो आएकाले अन्य साथीहरूले हतार नगरेर आफुलाई साथ दिन आग्रह गर्दै पछिल्लो कार्यकालको लागि साथिहरुलाई नै नेतृत्व हस्तान्तरण गर्ने श्रेष्ठले बताए । श्रेष्ठ व्यवसायसंगै करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय रहदै आएका छन् ।
त्यस्तै अध्यक्षका अर्का उम्मेदवार राजन गौतमले संस्थाको संरक्षण, विस्तार र पेशागत सुदृढीकरणलाई आफ्नो प्रमुख एजेन्डा रहेको उल्लेख गर्दै “व्यावसायिक, सवाल पत्रकारिताको प्रवर्द्धन र सम्पूर्ण सञ्चारकर्मीको हितमा क्रियाशील रहने” प्रतिवद्धता व्यक्त गरेका छन्।
स्थापनाकालदेखि संस्थाले ल्याएका उपलब्धिहरूको संरक्षण गर्दै, सुरू भएका तर पूर्ण रूपमा कार्यान्वयन हुन बाँकी योजनाहरूलाई यथासम्भव सम्पन्न गर्ने गौतमले बताएका छन्। गौतम जापान शाखाको निवर्तमान सचिव हुन भने जापानमा बसेर पत्रकारितामा सक्रिय रहदै आएका छन् ।
साथै, निर्वाचन प्रक्रिया अगाडि बढाउनु पर्ने अवस्थाको लागि तथा अधिवेशन सफल पार्नको लागि संयोजक खगराज गौतम तथा सदस्यहरु पूर्ण चलाउने र खड्क सिंह गुरुङ सदस्य रहेको निर्वाचन समितिले सम्पूर्ण पञ्जिकृत सदस्यलाई अधिवेशनमा सहभागी हुन आग्रहसमेत गरेको छ।











