बाजुरा । सूदुरपश्चिम प्रदेशका ९ जिल्लामा ४६ हजार नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ९ वटै जिल्लाका निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता कार्यलाई तीव्रता दिईएको थियो ।
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि दिएको समयसीमा भित्र सूदुरका जिल्लामा ४६ हजार २० मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीका अनुसार,२९ हजार ४३९ जनाले राष्ट्रिय परिचयपत्र र बाँकी १६ हजार ५८१ जनाले सम्बन्धीत निर्वाचन कार्यालयमै पुगेर मतदाता नामावलीमा नाम दर्ता गराएको जानकारी दिए ।
नयाँ थपिएका मतदाता मध्ये सबैभन्दा बढि कैलालीमा छन् । भने सबैभन्दा कम बाजुरामा रहेका छन् । कैलालीमा १८ हजार २१३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । त्यस्तै सबैभन्दा कम रहेको बाजुरामा एक हजार ५१७ जना नयाँ मतदाता थपिएका हुन् ।
कैलालीपछि क्रमशः कञ्चनपुरमा १२ हजार २९१, बैतडीमा दुई हजार ६५२, दार्चुलामा दुई हजार ६२८, अछाममा दुई हजार ६०४, बझाङमा दुई हजार ३४५, डडेल्धुरामा एक हजार ८९२ र डोटीमा एक हजार ८७८ जना मतदाता थपिएका छन् । सबै जिल्लामा थपिएका नयाँ मतदाता बढिजसो जेनजी समूहका रहेका छन् ।











