एनपीएलमा आज मंगलबार दुई खेल हुँदै

everest kitchen

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार दुई खेल हुँदैछन् । सोमबार कुनै खेल नभएको प्रतियोगितामा आज दुई खेल हुन लागेका हुन् ।

मंगलबारको पहिलो खेलमा जनकपुर र चितवनले प्रतिस्पर्धा गर्नेछन् भने खेल बिहान ११ ः ४५ मा सुरु हुँदैछ । दोस्रो खेलमा पोखरा र कर्णाली अपराह्न ४ बजे भिड्ने छन् ।

साविक विजेता जनकपुर यो सिजना खाता खोल्न संघर्ष गरिरहेको छ । चार खेलमा जितबिहीन जनकपुरका लागि जितको खाँचो छ । चार अंक जोडेको चितवन भने जनकपुरलाई हराउँदै प्लेअफ पुग्ने लक्ष्यका साथ मैदानमा हुनेछ ।

दोस्रो खेलमा पोखरा र कर्णाली याक्स भिड्दैछन् । दुवै टिम संघर्ष गरिरहेका छन् । तालिकामा पोखरा र कर्णालीको दुईदुई अंक मात्र छ । कर्णालीले पाँच खेल खेलिसकेको छ भने पोखराले चार खेल मात्र खेलेको छ ।

१९ खेल सकिँदा अंक तालिका भने रोचक बनेको छ । अंक तालिकामा अपराजित सुदूरपश्चिम १० अंकसहित प्लेअफमा पुगिसकेको छ । एक खेल मात्र खेल्न बाँकी रहेको काठमाण्डुले दुई खेल गुमाएर ८ अंक बनाएको छ । पाँच खेलमा एक खेल गुमाएको विराटनगरको समेत समान ८ अंक रहेको छ ।