क्वालालम्पुर, १२ जनवरी २०२६ —
गैरआवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समिति जोहोरको २०२५–२०२७ कार्यकालका लागि सर्वसहमतिमा निर्वाचित कार्यसमितिको नामावली जानकारी तथा अभिलेखका उद्देश्यले सोमबार नेपाली राजदूतावास, क्वालालम्पुरमा औपचारिक रूपमा पेश गरिएको छ।
नेपाली राजदूतावासका कार्यबाहक महामहिम शु–श्री मुदिता बजाचार्यज्यू समक्ष नामावली बुझाइएको हो। सो अवसरमा संघका अध्यक्ष श्री बेदना श्रेष्ठ, सचिव श्री विनय हमाल तथा कोषाध्यक्ष श्री तिलक श्रेष्ठको उपस्थिति रहेको थियो।
छोटो भेटघाट तथा छलफलका क्रममा कार्यबाहक महामहिम बजाचार्यज्यूले मलेसियामा कार्यरत नेपाली समुदाय, विशेषगरी नेपाली श्रमिकहरूको समस्या समाधान, अधिकार संरक्षण तथा सेवामा सहज पहुँच सुनिश्चित गर्न विगतझैं NRNA क्षेत्रीय समिति जोहोरसँग निरन्तर समन्वय, सहकार्य र सहयोग कायम रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले नेपाली श्रमिकहरूको श्रम अधिकार, कानुनी समस्या, स्वास्थ्य, आवास तथा आपतकालीन अवस्थासँग सम्बन्धित विषयहरूमा संघसँग सहकार्य गर्दै समाधान खोजिने धारणा राख्नुभयो। साथै, समुदायभित्र एकता, अनुशासन र पारदर्शिताका साथ काम गर्न NRNA नेतृत्वलाई आग्रह गर्नुभयो।
कार्यसमितिको तर्फबाट अध्यक्ष श्री बेदना श्रेष्ठले नेपाली राजदूतावासले अहिलेसम्म प्रदान गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी कार्यकालमा जोहोर क्षेत्रमा रहेका नेपाली श्रमिक, व्यवसायी तथा समग्र नेपाली समुदायको हितका लागि राजदूतावाससँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
आजको भेटका लागि अमूल्य समय प्रदान गरेकोमा नेपाली राजदूतावास, क्वालालम्पुरप्रति गैरआवासीय नेपाली संघ क्षेत्रीय समिति जोहोरले विशेष हार्दिक धन्यवाद व्यक्त गरेको छ।











