जाग्रेब । क्रोएसिया सरकारले विदेशी नागरिकसम्बन्धी ऐन (Foreigners Act) संशोधन प्रस्ताव संसदमा पेश गरेको छ। प्रस्तावित संशोधनअनुसार अब विदेशी कामदारले क्रोएसियामा एक वर्ष बसोबास गरेपछि आवास तथा कार्य अनुमति (Residence and Work Permit) नवीकरण गर्न क्रोएसियाली भाषा सिकेको प्रमाण पेश गर्नुपर्नेछ।
सरकारको प्रस्ताव अनुसार विदेशी कामदारले अनुमति नवीकरणका लागि क्रोएसियाली भाषाको A1.1 स्तरको परीक्षा उत्तीर्ण गर्न अनिवार्य हुनेछ। यो व्यवस्था युरोपेली संघ (EU) को कानुनसँग क्रोएसियाली कानुनलाई समायोजन गर्नुका साथै श्रम बजारका आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गर्ने उद्देश्यले ल्याइएको हो।
संशोधन प्रस्ताव EU को ‘सिंगल परमिट डाइरेक्टिभ’ र ‘आश्रय तथा आप्रवासन सम्झौता (Pact on Asylum and Migration)’ अनुरूप तयार गरिएको हो। यसले सदस्य राष्ट्रलाई आफ्ना आवश्यकता अनुसार लचिलो नीति अपनाउने अधिकार दिँदै संवेदनशील समूहको संरक्षण सुनिश्चित गर्ने लक्ष्य राख्छ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री डाभोर बोझिनोभिचका अनुसार संशोधनले EU बाह्य सीमामा तेस्रो देशका नागरिकमाथि विस्तृत जाँच, मौलिक अधिकारको निगरानीका लागि स्वतन्त्र संयन्त्र, तथा आश्रय निवेदन अस्वीकृत भएकालाई फर्काउने प्रक्रिया पनि समेटेको छ।
गृह मन्त्रालयका अनुसार सुधारले श्रम अभावको छिटो समाधान, प्रशासनिक झन्झट घटाउने, अनुमति प्रक्रिया प्रभावकारी बनाउने र तेस्रो देशका कामदारलाई थप संरक्षण दिने लक्ष्य राखेको छ।
नयाँ व्यवस्थाअनुसार विदेशी कामदारले अब श्रम अभावमा सूचीकृत पेशामा मात्र होइन, सबै पेशामा एउटै रोजगारदातासँग कामको प्रकृति परिवर्तन गर्न सक्नेछन्। साथै पहिलो रोजगारदातासँग छ महिना काम गरेपछि नयाँ आवास तथा कार्य अनुमति नलिई अर्को रोजगारदाता परिवर्तन गर्न सकिनेछ।
तर श्रम अभावका पेशाका लागि जारी अनुमति भने क्षेत्रगत रूपमा सीमित हुनेछन्। श्रम अभाव नदेखिएको वा श्रम बजार परीक्षण नभएको प्रहरी प्रशासन क्षेत्रमा काम गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ।
आवास तथा कार्य अनुमति जारी गर्ने समयसीमा ९० दिन पुर्याइनेछ। अनुमति अवधिमा बेरोजगार रहन पाउने समय तीन महिना र दुई वर्षभन्दा बढी अनुमति लिएका कामदारका लागि छ महिनासम्म बढाइनेछ।
मौसमी कामदारका लागि प्रशासनिक सहजता थपिएको छ। एउटै कामदार र रोजगारदातालाई एउटै पेशामा दिइने मौसमी अनुमति अब एक वर्षको सट्टा तीन वर्षसम्म वैध हुनेछ। उनीहरूले वर्षमा ९० दिन वा अधिकतम नौ महिना काम गर्न सक्नेछन्।
विद्यार्थीका लागि अस्थायी बसोबास अनुमति पनि एक वर्षबाट तीन वर्षसम्म विस्तार गरिने प्रस्ताव छ।
रोजगारदातामाथि कडाइ
अनियमितता गरेको ठहर भई ‘ब्ल्याकलिस्ट’ मा परेका रोजगारदाताले एक वर्षसम्म नयाँ कार्य अनुमति लिन पाउने छैनन्। रोजगारी समाप्त भएको जानकारी अब विदेशी कामदारले होइन, रोजगारदाताले e-Građani प्रणालीमार्फत प्रहरी प्रशासनलाई दिनुपर्नेछ।
विदेशी कामदारले करार समाप्त भएको पाँच दिनभित्र क्रोएसियाली रोजगार सेवा (HZZ) लाई जानकारी दिनुपर्नेछ। HZZ बाट प्रस्ताव गरिएको काम अस्वीकार गरेमा अनुमति रद्द हुनेछ।
विदेशी कामदारको बसोबास दर्ता गर्ने समयसीमा तीन दिनबाट १५ दिन पुर्याइनेछ। रोजगारदाताको बैंक खाता ३० दिनभन्दा बढी समय अवरुद्ध नभएको र पछिल्ला १२ महिनाको कारोबार देखाउनुपर्नेछ। न्यूनतम कारोबार सीमा कानुनी संस्थाका लागि १ लाख युरो र व्यक्तिगत व्यवसायीका लागि ४० हजार युरो तोकिएको छ।
विदेशी कामदार राख्न सकारात्मक स्वीकृति पाउन रोजगारदाताका कम्तीमा १० प्रतिशत कर्मचारी क्रोएसियाली वा EU, EEA सदस्य राष्ट्र तथा स्विट्जरल्यान्डका नागरिक हुनुपर्नेछ।
पहिलेका संशोधनपछि क्रोएसियामा जारी हुने आवास तथा कार्य अनुमतिमा केही कमी आएको छ। सन् २०२५ का पहिलो नौ महिनामा १ लाख ३६ हजार १९४ अनुमति जारी भएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको १ लाख ५८ हजार ८३७ भन्दा कम हो।
सरकारले यी सुधारले आर्थिक आवश्यकता, सामाजिक एकीकरण र कानुनी स्पष्टताबीच सन्तुलन कायम गर्दै क्रोएसियालाई बदलिँदो युरोपेली आप्रवासन प्रणालीमा मजबुत स्थान दिलाउने जनाएको छ।











