रौतहट, ९ असार । रौतहटमा विभिन्न जनचेतनामूलक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै ट्राफिक जनचेतना सप्ताह–२०८३ सम्पन्न गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले मंगलबार पत्रकार सम्मेलनमार्फत सप्ताहभर सञ्चालन भएका कार्यक्रम तथा उपलब्धिबारे जानकारी दिएका हुन्।
प्रहरी निरीक्षक मगरका अनुसार सप्ताहको पहिलो दिन असार ३ गते गौरमा प्रभातफेरीसहित उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल प्रमुख अतिथि तथा गौर नगरपालिकाका प्रमुख शम्भु साह अध्यक्ष रहेका थिए। कार्यक्रममा ३५० भन्दा बढी सर्वसाधारणको सहभागिता रहेको थियो।
दोस्रो दिन असार ४ गते यातायात व्यवसायी तथा मजदुरहरूसँग सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।
तेस्रो दिन असार ५ गते यातायात व्यवस्था कार्यालय गौरसँगको सहकार्यमा यात्रुवाहक तथा अन्य सवारीसाधनहरूको मेकानिकल परीक्षण गरिएको थियो। उक्त क्रममा ७० वटा सवारीसाधनको प्राविधिक परीक्षण गरिएको प्रहरीले जनाएको छ।
चौथो दिन असार ६ गते आयोजित रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए भने
पाँचौँ दिन विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो।
छैटौँ दिन असार ८ गते चालकहरूको स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा ६१ जना चालकको सुगर, रक्तचाप, आँखा परीक्षण, मादक पदार्थ सेवन (मापसे) तथा लागूपदार्थ सेवन (लापसे) परीक्षण गरिएको थियो। परीक्षणका क्रममा लागूपदार्थ सेवन गरी सवारी चलाइरहेका ३ जना चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सप्ताहभर सञ्चालन गरिएका अभियानअन्तर्गत ४० चरणमा १ हजार ४४० वटा सवारीसाधनमा ट्राफिक सचेतनामूलक स्टिकर टाँसिएको थियो।
त्यसैगरी १ हजार ६०५ वटा पर्चा–पम्पलेट वितरण गरिएको थियो।
विद्यालय लक्षित कार्यक्रमअन्तर्गत जिल्लाका ८ वटा विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो, जसमा करिब ९ सय विद्यार्थी सहभागी भएका थिए।
जेब्रा क्रसिङ सम्बन्धी सचेतनामूलक अभियानबाट ६ सय ५० जना लाभान्वित भएका थिए भने ‘चालकसँग एक मिनेट’ कार्यक्रममार्फत ५ सय ५ जना चालकलाई ट्राफिक नियमबारे जानकारी गराइएको थियो। साथै आरक्षित तथा आसन सिटको कार्यान्वयन अवस्थासमेत अनुगमन गरिएको थियो।
यस्तै, ७ सय ७० जना मोटरसाइकल चालकलाई हेल्मेटको सही प्रयोगबारे प्रशिक्षण तथा परामर्श प्रदान गरिएको थियो।
ट्राफिक सप्ताहको अन्तिम दिन मंगलबार दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरी पत्रकार सम्मेलनमार्फत सप्ताहभरका गतिविधि र उपलब्धि सार्वजनिक गरिएको प्रहरी निरीक्षक मगरले जानकारी दिए। उनले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि यस्ता जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने बताए।











