लागूऔषध नियन्त्रणमा प्रहरीको प्रयास : तस्करीको नयाँ शैलीले पहिचानमा सकस

everest kitchen

काठमाडौं । नेपालमा लागुऔषधको प्रयोग, ओसारपसार तथा कारोबार नियन्त्रणका लागि राज्यका निकायहरूले विभिन्न प्रयास गरिरहेका भएपनि त्यो न्यूनीकरण हुन सकेको छैन् ।

पछिल्ला वर्षहरूमा लागूऔषधसम्बन्धी मुद्दा, पक्राउ पर्ने व्यक्तिको संख्या तथा तस्करीका नयाँ शैलीहरूले समस्या झन् जटिल बन्दै गएको देखिन्छ ।

लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वरका प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार नेपालमा लागुऔषध प्रयोगकर्ता र कारोवारीको संख्या घटेको निष्कर्ष निकाल्न सकिने अवस्था छैन । बरु पक्राउ परेका व्यक्ति र दर्ता भएका मुद्दाको अनुपात हेर्दा समस्या अझै गम्भीर बन्दै गएको देखिन्छ ।

नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले अघिल्लो वर्षको तुलनामा केही समय संख्यात्मक कमी देखिए पनि समग्र अवस्था सुधारोन्मुख भन्न नसकिने बताए।

उनले भने, ‘अब घट्दो छ भन्न त मिल्दैन। युजरहरूको संख्या र हामीकहाँ दर्ता भएका मुद्दा हेर्दा तुलनात्मक रूपमा बढी नै देखिन्छ । केही समय विभिन्न कारणले संख्या घटेजस्तो देखिए पनि समग्र रेसियो हेर्दा वृद्धि नै भएको छ । पक्राउ परेका तथा कारबाहीको दायरामा ल्याइएका व्यक्तिहरूको संख्या पनि बढेकै देखिन्छ ।’

उनका अनुसार लागू औषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत लागुऔषध बरामद भएका तथा त्यसको कारोबारमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गरिन्छ । अनुसन्धान सम्पन्न भएपछि सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दर्ता गरिने र बरामद पदार्थको प्रकार, मात्रा तथा प्रकृतिअनुसार सजाय निर्धारण हुने व्यवस्था रहेको छ ।

युवा पुस्ता सबैभन्दा बढी जोखिममा

नेपालमा लागूऔषध प्रयोग तथा कारोबारमा संलग्न व्यक्तिहरूमध्ये अधिकांश युवा उमेर समूहका रहेको तथ्यांकले देखाएको छ । प्रवक्ता रेग्मीका अनुसार १८ वर्षदेखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरू सबैभन्दा बढी संलग्न पाइन्छ ।

उनले युवाहरू बेरोजगारी, गलत संगत, सामाजिक दबाब, मनोरञ्जनको गलत बुझाइ तथा आर्थिक लोभका कारण लागूऔषधको जालोमा फस्ने गरेको बताए।

‘उमेर समूहको कुरा गर्दा विशेषगरी १८ वर्षदेखि ४५ वर्षभन्दा मुनिका व्यक्तिहरू नै बढी संलग्न देखिन्छन्,’ उनले भने ।

ब्यूरोका अनुसार लागूऔषधको प्रयोग मात्र होइन, वितरण र कारोबारमा समेत युवा पुस्ताको संलग्नता बढ्दै गएको छ । यसले आगामी पुस्ताको स्वास्थ्य, सामाजिक अवस्था र देशको उत्पादक जनशक्तिमाथि प्रत्यक्ष असर पार्न सक्ने चिन्ता बढाएको छ।

महिलाको संलग्नता पनि बढ्दै

पहिलेको तुलनामा महिलाहरू पनि लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न हुन थालेको प्रहरीले जनाएको छ।

रेग्मीका अनुसार विभिन्न अपरेसनका क्रममा महिलाहरूको साथबाट समेत ब्राउन सुगर, हेरोइन, गाँजा तथा अन्य लागूऔषध बरामद भएका घटनाहरू बढेका छन्।

‘महिलाहरू पनि यसमा संलग्न रहेको देखिएको छ। नियन्त्रणमा लिँदा उनीहरूको साथबाट विभिन्न किसिमका लागूऔषध बरामद भएका छन् र कानुनी कारबाहीको प्रक्रियामा ल्याइएको अवस्था छ,’ उनले बताए।

सबैभन्दा धेरै भारतबाट भित्रिन्छ 

नेपालमा अवैध लागूऔषध भित्रिने प्रमुख स्रोत भारत रहेको ब्यूरोको भनाइ छ ।

विशेषगरी खुला सीमा भएका कारण ब्राउन सुगर, खैरो हेरोइन, ट्रामाडोल लगायतका औषधिजन्य ट्याब्लेट, टीडीजेसिक इन्जेक्सन तथा अन्य मादक पदार्थ भारतबाट नेपाल ल्याइने गरेको छ ।

‘मित्र राष्ट्र भारतबाट ब्राउन सुगर, खैरो हेरोइन र औषधिजन्य ट्याब्लेटहरू आइरहेका छन्,’ रेग्मीले बताए।

उनका अनुसार सीमावर्ती क्षेत्रबाट विभिन्न व्यक्तिहरू प्रयोग गरेर सानो–सानो परिमाणमा पदार्थ भित्र्याउने र त्यसलाई नेपालका विभिन्न स्थानमा वितरण गर्ने नेटवर्क सक्रिय छ।

विदेशी नेटवर्कको नजरमा नेपाल

नेपाल पछिल्लो समय अन्तर्राष्ट्रिय लागुऔषध तस्करहरूको ट्रान्जिट प्वाइन्टका रूपमा प्रयोग हुन थालेको देखिएको छ ।

प्रवक्ता रेग्मीका अनुसार कोलम्बिया, मेक्सिको, ब्राजिल तथा केही अफ्रिकी मुलुकहरूबाट आउने कोकिन र ह्वाइट हेरोइन नेपाल हुँदै अन्य मुलुक पु¥याउने प्रयासहरू हुने गरेका छन्।

‘विदेशी तस्करहरूले नेपाललाई ट्रान्जिट बनाएर कोकिन र ह्वाइट हेरोइन ओसारपसार गर्न खोजेको देखिन्छ,’ उनले भने।

यस्ता पदार्थहरू प्रायः हवाई मार्गमार्फत नेपाल ल्याइने गरेको प्रहरीले जनाएको छ।

पेटभित्र निलेरदेखि शरीरमा लुकाएरसम्म

लागुऔषध तस्करीमा प्रयोग हुने शैली दिनप्रतिदिन परिष्कृत र जटिल बन्दै गएको छ।

रेग्मीका अनुसार तस्करहरूले कोकिनलाई तरल पदार्थको रूपमा शरीरका विभिन्न भागमा लुकाउने, ट्याब्लेट बनाएर पेटभित्र निल्ने तथा आन्द्राभित्र राखेर ल्याउनेसम्मका उपाय अपनाएका छन्।

‘कहिले कोकिनलाई लिक्विडको रूपमा शरीरमा प्रयोग गरेर ल्याइन्छ, कहिले ट्याब्लेट बनाएर पेट र आन्द्राभित्र निलेर ल्याइएको अवस्था पनि भेटिएको छ,’ उनले बताए।

त्यस्तै साउन्ड बक्स, रेडियो, मोबाइल फोन, इलेक्ट्रोनिक उपकरण तथा दैनिक प्रयोगका सामग्रीभित्र लुकाएर समेत लागुऔषध ल्याउने प्रयास हुने गरेको छ।

थाइल्यान्डबाट ‘हाइब्रिड गाँजा’

नेपालमा पछिल्लो समय थाइल्यान्डबाट ‘हाइब्रिड’ अथवा रासायनिक पदार्थ मिसाइएको गाँजा भित्रिने क्रम बढेको प्रहरीले जनाएको छ।

रेग्मीका अनुसार यो गाँजा सामान्य गाँजाभन्दा धेरै शक्तिशाली हुने र युवाहरूमा यसको माग बढ्दै गएको देखिएको छ।

‘थाइल्यान्डबाट आउने केमिकल मिसाइएको हाइब्रिड गाँजा पनि चुनौतीको रूपमा देखा परेको छ,’ उनले बताए।

नेपालमै गाँजा र अफिम उत्पादन

विदेशबाट लागूऔषध भित्रिने मात्र होइन, नेपालभित्रै गाँजा र अफिम खेती हुने गरेको तथ्य पनि प्रहरीले औँल्याएको छ।

गाँजाबाट चरेस तथा अन्य मादक पदार्थ उत्पादन हुने र अफिमको चोप विभिन्न प्रकारका लागूऔषध निर्माणमा प्रयोग हुने गरेको रेग्मीले बताए।

नेपालका दुर्गम तथा पहाडी क्षेत्रहरूमा लुकिछिपी गाँजा र अफिम खेती हुने गरेको तथा समय–समयमा प्रहरीले त्यस्ता खेती नष्ट गर्ने अभियान सञ्चालन गर्दै आएको छ।

प्रहरीले कसरी गर्छ नियन्त्रण ?

लागूऔषध नियन्त्रणका क्रममा प्रहरीले कानुनबमोजिम मात्रै बल प्रयोग गर्ने रेग्मीले स्पष्ट पारे।

उनका अनुसार कारोबारीलाई पक्राउ गर्न गोली हान्ने भन्ने धारणा गलत हो। नियन्त्रणमा लिने क्रममा भाग्न खोजे, प्रहरीमाथि आक्रमण गरे वा अन्य विकल्प नरहेपछि मात्रै चेतावनी दिएर आवश्यक बल प्रयोग गर्ने उनले जानकारी दिए । उनले भने,‘हामीले समात्नेबित्तिकै गोली हान्दैनौँ। नियन्त्रणमा लिने क्रममा भाग्न खोजे, प्रहरीमाथि आक्रमण गरे वा अन्य विकल्प नरहेपछि मात्रै चेतावनी दिएर आवश्यक बल प्रयोग गरिन्छ,’ उनले भने। पहिले चेतावनी दिने, त्यसपछि हवाई फायर गर्ने र अन्तिम अवस्थामा खुट्टामुनि गोली प्रहार गरेर नियन्त्रणमा लिने अभ्यास रहेको उनले बताए।

बरामद लागूऔषध कहाँ जान्छ ?

बरामद भएका लागूऔषध पुनः बजारमा नफर्किउन् भनेर कानुनी प्रक्रिया पूरा भएपछि नष्ट गरिने व्यवस्था रहेको छ।

रेग्मीका अनुसार स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, अदालत तथा प्रहरीका प्रतिनिधि सम्मिलित समितिले अनुसन्धान र मुद्दा प्रक्रिया सम्पन्न भएपछि बरामद पदार्थ नष्ट गर्छ।

‘सम्बन्धित सबै निकायको उपस्थितिमा कानुनी प्रक्रिया पूरा गरेर लागुऔषध नष्ट गरिन्छ,’उनले बताए।

डिजिटल प्लेटफर्म : अवसर पनि, जोखिम पनि

सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको विस्तारसँगै लागुऔषध नियन्त्रण अभियानमा नयाँ अवसर र चुनौती दुवै थपिएका छन्।

उनका अनुसार फेसबुक, टिकटक, युट्युबलगायतका प्लेटफर्म जनचेतना फैलाउन प्रभावकारी माध्यम बनेका छन्। तर अर्कोतर्फ यिनै प्लेटफर्म प्रयोग गरेर ड्रग्स पार्टी आयोजना गर्ने, ग्राहक खोज्ने, सम्पर्क विस्तार गर्ने तथा डिजिटल वालेटमार्फत भुक्तानी गर्ने प्रवृत्ति पनि बढेको छ ।

‘डिजिटल प्लेटफर्म जनचेतनाका लागि निकै उपयोगी छन्। तर केही व्यक्तिले लागुऔषध कारोबार र नेटवर्क विस्तारका लागि पनि प्रयोग गरिरहेका छन्,’ उनले बताए।

उनका अनुसार प्रहरीले डिजिटल निगरानी, साइबर अनुसन्धान तथा अन्तरनिकाय समन्वयमार्फत यस्ता गतिविधिमाथि निगरानी बढाइरहेको छ।

जनचेतना र सहकार्य आवश्यक

प्रवक्ता रेग्मीले लागूऔषध नियन्त्रण प्रहरीको मात्र जिम्मेवारी नभएको उल्लेख गर्दै परिवार, विद्यालय, समुदाय, स्थानीय तह तथा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको बताए।

उनका अनुसार युवालाई सही सूचना, सकारात्मक वातावरण र रोजगारीका अवसर उपलब्ध गराउन सकिए लागूऔषधको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ।

‘कानुनी कारबाहीसँगै जनचेतना, सामाजिक सहयोग र पारिवारिक निगरानी पनि उत्तिकै आवश्यक छ’ उनले भने।

नेपालमा यसको चुनौती बहुआयामिक बन्दै गइरहेको अवस्थामा नियन्त्रणका लागि सुरक्षा निकायको सक्रियता मात्र पर्याप्त नहुने देखिएको छ । खुला सीमा, अन्तर्राष्ट्रिय तस्करी सञ्जाल, नयाँ प्रविधिको प्रयोग र युवा पुस्तामा बढ्दो आकर्षणले समस्या जटिल बनाइरहेको छ ।