एक हप्ता विश्वका अग्रणी एआइ (कृत्रिम बुद्धिमत्ता) विशेषज्ञ, क्लाउड आर्किटेक्ट, स्टार्टअप संस्थापक र प्रविधि नेताहरूसँग बिताएपछि पनि मेरो मनमा सबैभन्दा गहिरो छाप छोड्ने संवाद त्यो थियो । जसमा एआइको चर्चा नै भएको थिएन । त्यो संवाद कुनै सम्मेलन हलमा भएको थिएन । त्यो ३५ घण्टाको रेलयात्रामा भएको थियो ।
सियाटलमा आयोजित ‘एडब्लुएस एम्ब्यासडर ग्लोबल समिट २०२६’ सकिएपछि म लस एन्जलसतर्फ जाँदै थिएँ । मेरासामू दुई विकल्प थिए । तीन घण्टाको उडान वा ३५ घण्टाको रेलयात्रा ।
मैले रेल रोजेँ । त्यतिबेला यो केवल यात्रा गर्ने फरक तरिका जस्तो लागेको थियो । तर पछि महसुस भयो, त्यो यात्रा वास्तवमा मानिसहरूलाई बुझ्ने एउटा अवसर रहेछ ।
रेलमा चढ्दा मेरो योजना स्पष्ट थियो । सम्मेलनका नोटहरू मिलाउने, इमेलहरू हेर्ने र आगामी बैठकहरूको तयारी गर्ने पनि थियो । तर यात्राको अन्त्यसम्म आइपुग्दा मैंले महसुस गरेँ कि अधिकांश समय काममा होइन, मानिसहरूका कथा सुन्नमा बिताएको रहेछु ।
रेलको अवलोकन कक्षबाट प्रशान्त महासागरको किनार, घना जंगल, साना बस्ती र ठूला शहरहरू हेर्दै यात्रा गर्नु आफैंमा एक सुन्दर अनुभव थियो । तर यात्राको सबैभन्दा महत्वपूर्ण पक्ष बाहिरको दृश्य होइन, भित्रका मानिसहरू थिए ।
दिनमा तीन पटक भोजन कक्षमा अपरिचित यात्रुहरू एउटै टेबलमा बसाइन्थे । कसलाई कससँग बसाउने भन्ने निर्णय कुनै एल्गोरिदमले गर्दैनथ्यो । त्यहाँ कृत्रिम बुद्धिमत्ता थिएन, डेटा विश्लेषण थिएन, केवल संवाद सुरु गर्ने एउटा अवसर थियो ।
यात्राका क्रममा मेरो भेट विभिन्न पृष्ठभूमिका मानिसहरूसँग भयो । अमेरिकी कोस्टगार्डका एक अधिकारी, एक दोभाषे, एक भायोलिनवादक, जीवनको उत्तरार्धमा व्यवसाय सुरु गरेका उद्यमी, नाभाजो समुदायकी एक महिला तथा आफ्ना सांस्कृतिक जडहरूप्रति गहिरो जिज्ञासा राख्ने दोस्रो पुस्ताका चिनियाँ–अमेरिकीसँग भयो ।
यात्राको सुरुवातमा पूर्ण रूपमा अपरिचित लागेका केही अनुहारहरू क्यालिफोर्निया पुग्दासम्म परिचित जस्ता लाग्न थालेका थिए । त्यसले मलाई एउटा सरल सत्य सम्झायो मानिसहरूबीचको सम्बन्ध प्रायः योजनाबाट होइन, संवादबाट बन्छ ।
मलाई सबैभन्दा धेरै सम्झना रहने संवाद भने नाभाजो समुदायकी एक महिलासँग भएको थियो । प्रशान्त महासागरको किनारैकिनार रेल गुडिरहँदा हाम्रो कुराकानी संस्कृति, पहिचान, इतिहास र पुस्तान्तरणतर्फ मोडियो ।
त्यस क्रममा उनले भनेकी एक कुरा आज पनि मेरो मनमा ताजा छ । ‘प्रविधि धेरै छिटो परिवर्तन हुन्छ, तर मानिसले आफू कहाँबाट आएको हो भन्ने कुरा बिर्सनु हुँदैन् ।’ त्यो वाक्य सुन्दैगर्दा मलाई नेपालका गाउँदेखि काठमाडौंसम्म भेटिने उस्तै चिन्ताहरू सम्झना आए । हामी आफ्ना छोराछोरीका लागि कस्तो भविष्य छाड्दैछौँ ?
‘परिवर्तनको बीचमा आफ्नो पहिचान कसरी जोगाउने’ र तीव्र गतिमा बदलिँदो संसारमा हामी वास्तवमा कहाँ सम्बन्धित छौँ ? सायद यही कारणले त्यो संवाद मेरो मनमा बसिरह्यो । सियाटलमा भएका अधिकांश संवादहरू प्रविधिको क्षमताबारे केन्द्रित थिए । एआइले के गर्न सक्छ ? क्लाउडले कस्तो परिवर्तन ल्याउन सक्छ ? नयाँ प्रविधिले कस्ता अवसर सिर्जना गर्न सक्छ ? तर रेलमा भएका संवादहरू फरक थिए । त्यहाँ मानिसहरू प्रविधिबाट के अपेक्षा गर्छन् भन्ने विषयमा कुरा गरिरहेका थिए । दुवै संवाद भविष्यबारे नै थिए।तर दृष्टिकोण फरक थियो ।
डिजिटल रूपान्तरण को नयाँ चरण
आज नेपाल पनि डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तनको नयाँ चरणमा प्रवेश गरिरहेको छ । हामी प्रविधिका सम्भावना र अवसरबारे उत्साहित छौँ र हुनुपनि पर्छ । तर प्रविधिबारे हुने प्रत्येक छलफलसँगै हामीले अर्को प्रश्न पनि सोध्नुपर्छ–यसले मानिसको जीवनलाई कसरी अझ राम्रो बनाउँछ ?
किनभने अन्ततः प्रविधिको उद्देश्य केवल नयाँ प्रणाली निर्माण गर्नु होइन, मानिसका सम्भावनालाई विस्तार गर्नु हो । नेपाल, अमेरिका, बेलायत, बंगलादेश वा नाइजेरिया, जहाँ गएपनि मानिसहरूका आधारभूत प्रश्नहरू धेरै फरक देखिँदैनन् ।
हामी को हौँ ?
हामी कहाँ सम्बन्धित छौँ ? हामीले अर्को पुस्तालाई कस्तो भविष्य हस्तान्तरण गर्नेछौँ ? परिस्थिति बदलिन्छ । संस्कृति बदलिन्छ । प्रविधि बदलिन्छ ।तर मानिसका सबैभन्दा महत्वपूर्ण प्रश्नहरू भने उस्तै रहन्छन् । सियाटलले मलाई प्रविधिको भविष्यबारे धेरै कुरा सिकायो । तर लस एन्जलससम्मको रेलयात्राले मलाई मानिसहरूको भविष्यबारे सोच्न बाध्य बनायो । भविष्य केवल प्रविधिको चुनौती होइन । त्यो त्यत्तिकै मानवीय चुनौती पनि हो।प्रविधि परिवर्तनको गति अझ बढ्दै जाला । तर मानिसले खोज्ने अर्थ, सम्बन्ध र पहिचान भने सायद उस्तै रहनेछन् ।
(अञ्जनी फुयाँल ब्रिटेनमा मुख्यालय रहेको आइटी तथा साइबर सेक्युरिटी सम्बन्धी परामर्शदाता कम्पनी, जेनेस सलुशनका संस्थापक तथा प्रमुख कार्यकारी हुन् । उनी युके र आयरल्याण्डका लागि अमेजन वेब सर्भिसेज (एडब्लुएस) को एम्ब्यासडर पनि रहिसकेका छन् ।)











