काठमाडौं, ३ साउन । फिफा विश्वकपमा प्रसारकहरूले प्रतियोगिताको प्रसारणका लागि ठूलो धनराशि खर्च गर्नु परे पनि दर्शकहरूको संख्या र आफ्ना ब्रान्डहरू प्रदर्शन गर्न चाहने प्रायोजकहरूको उपस्थितिले गर्दा उनीहरूले विज्ञापनको समय बिक्री गरेर राम्रो नाफा कमाएका छन् ।
फिफाले यस विश्वकपका लागि निकै चर्चामा रहेको ‘हाइड्रेसन ब्रेक’ अर्थात खेलाडीहरूले पानी वा पेय पदार्थ पिउने छोटो समयको व्यवस्था गरेको थियो, जसलाई इन्फान्टिनोले पूर्ण रूपमा खेलसम्बन्धी विषय भनी व्याख्या गरेका थिए र यसबाट नियामक निकायलाई कुनै अतिरिक्त आम्दानी नहुने बताएका थिए।
तर, खेलाडीहरूलाई तरल पदार्थ सेवन गर्न दिइने त्यो तीन मिनेटको समयले प्रसारक र प्रायोजकहरूका लागि व्यापारिक अवसर सिर्जना गरेको छ।
अमेरिकामा प्रसारण अधिकारका लागि ४८५ मिलियन डलर तिरेको बताइने ‘फक्स स्पोर्ट्स’ले यी ब्रेकहरूलाई कुनै न कुनै ब्रान्डद्वारा प्रायोजितकार्यक्रमका रूपमा प्रस्तुत गर्यो।
विशेषज्ञहरूका अनुसार, फक्समा विश्वकपको औसत ३० सेकेन्डको विज्ञापन स्लटको मूल्य २ लाखदेखि ३ लाख डलरसम्म पर्छ। अमेरिकाको खेल र प्रतियोगिताको अन्तिम चरणहरूमा यो मूल्य बढेर ७ लाख ५० हजार डलरसम्म पुगेको थियो।
‘हाइड्रेसन ब्रेकहरू विज्ञापनका लागि उपलब्ध विशुद्ध अवसर अर्थात इन्भेन्टरी हुन्। यदि यी हटाइए भने मलाई निकै आश्चर्य लाग्नेछ। यो विस्तारित ढाँचा कायम रहनेछ किनभने स्केल वा ठूलो स्तरको पहुँच नै अहिले फिफाको व्यापारिक मोडेल हो,’ ड्यूश बैंक रिसर्चका लाबोर भन्छन्।
बेलायतमा बीबीसी वा आईटीभीमार्फत खेल हेर्ने दर्शकहरू भने हाइड्रेसन ब्रेकका विज्ञापनहरूबाट जोगिएका छन् किनभने बीबीसीले कुनै विज्ञापन देखाउँदैन भने आईटीभी ६० मिनेटको अवधिमा देखाइने विज्ञापनको मात्रासम्बन्धी नियामक निकायको नियमका कारण सीमित छ।
विश्वकपका आधिकारिक प्रायोजकहरूले प्रतियोगितासँग आफ्नो ब्रान्ड जोड्न ठूलो रकम खर्च गर्छन् तर एडिडास र कोकाकोलाजस्ता ब्रान्डहरू जताततै देखिने भएकाले उनीहरू अन्ततः आर्थिक रूपमा लाभान्वित नै हुन्छन्।
जर्मन स्पोर्ट्सवेयर ब्रान्ड ‘एडिडास’ आफ्नो कट्टर प्रतिद्वन्द्वी नाइकीसँगको प्रतिस्पर्धामा छ र उसले लामिन यामल, जुड बेलिङघम तथा लियोनेल मेस्सीलाई समेटेर बनाइएको ‘ब्याकयार्ड लेजेन्ड्स’ विज्ञापनमा करिब ५ करोड पाउन्ड खर्च गरेको छ।
यद्यपि, फिफाले दर्शकहरूको नजरमा कम परून् भन्ने प्रयास गर्दागर्दै पनि केही अनौपचारिक ब्रान्डहरूले फाइदा उठाएका छन्, उदाहरणका लागि, सान फ्रान्सिस्कोस्थित ‘लेभाइज स्टेडियम’ बाहिर रहेको लेभाइजको लोगो छोपिएको घटनालाई लिन सकिन्छ।










