टोकियो, ८ साउन । जापानमा तापक्रम बढ्दै जाँदा कार्यालयमा पुरुषहरूले सर्ट्स (छोटो पाइन्ट) लगाउने विषयमा बहस सुरु भएको छ।
टोकियो महानगर सरकारले आफ्ना कर्मचारीहरूलाई सुट र टाईको सट्टा टी सर्ट, स्पोर्टस सुज र सर्ट्सजस्ता अनौपचारिक पहिरन लगाउन प्रोत्साहन गरे पछि नयाँ बहस सुरू भएको हो ।
टोकियोकी गभर्नर युरिको कोइकेले अप्रिल महिनामा ‘टोकियो कूल बिज’ अभियानको सुरुवात गरेकी थिइन । यसको उद्देश्य अत्यधिक गर्मीको समयमा कार्यालयमा अझ आरामदायी कपडा लगाउने विकल्प मानिसहरूलाई उपलब्ध गराउनु हो। करिब चार महिनापछि, काममा छोटो पाइन्ट (सर्ट्स) लगाउन पाइने नयाँ व्यवस्था प्रति मिश्रित प्रतिक्रिया देखिएको छ।
केही महिलाहरूले पुरुष सहकर्मीहरूको खुट्टाको रौं देख्दा असहज महसुस हुने बताएका छन्। अनलाइनमा यसलाई ‘सानेहारा’ भनिने गरिएको छ—यो शब्द ‘खुट्टाको रौं सम्बन्धी दुर्व्यवहार’ सँग जोडिएको छ।
विश्वका अन्य भागहरूमा जस्तै, जापानमा पनि पछिल्ला महिनाहरूमा कीर्तिमानी गर्मी महसुस गरिएको छ। साथै, मध्य पूर्वको अस्थिरताका कारण ऊर्जाको मूल्य वृद्धि हुने चुनौती पनि कायमै छ।
मौसम विभागले यस गर्मीयाममा अत्यधिक गर्मी हुने चेतावनी जारी गरेको छ। जनचेतना जगाउन जापानको मौसम विज्ञान विभागले ‘कोकुशो बि’ शब्दको प्रयोग गरिरहेको छ, यसको अर्थ ‘अत्यधिक गर्मी हुने दिन’ हो र तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्दा यो शब्द प्रयोग गरिन्छ।











