नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी

everest kitchen

न्युयोर्क, १० साउन । नोआ लाइल्सले अमेरिकी एथलेटिक्स च्याम्पियनसिपको १०० मिटर दौडमा ९.७९ सेकेन्डको समय निकाल्दै प्रभावशाली जित हासिल गरेका छन । यो यस वर्षको विश्वकै उत्कृष्ट र छिटो समयको दौड पनि हो।

न्युयोर्क सहरको आइकानस्टेडियममा भएको यस दौडमार्फत उनले सन् २०२४ को पेरिस ओलम्पिकमा स्वर्ण जित्दा कायम गरेको आफ्नो व्यक्तिगत उत्कृष्ट कीर्तिमानसँग बराबरी पनि गरेका हुन ।

यसअघि सन् २०२४ मा १०० मिटर दौडको उत्कृष्ट समय ९.८२ सेकेन्ड थियो, जुन जमैकाका ओब्लिक सेभिलले जुन महिनामा कायम गरेका थिए।

‘मलाई लाग्छ, म अझै पनि विश्वको सबैभन्दा छिटो दौडने मानिस हुँ भन्ने कुरा प्रमाणित गरें,’ लाइल्सले भने।

२९ वर्षीय अमेरिकी धावक लाइल्सले रोनी बेकर (दोस्रो) र केनी बेडनारेक (तेस्रो) भन्दा अगाडि रहँदै दौड पूरा गरेका हुन । बेकर र बेडनारेक दुवैले ९.८८ सेकेन्डको समय लिएका थिए भने पूर्व विश्व च्याम्पियन क्रिश्चियन कोलम्यान ९.९३ सेकेन्डका साथ चौथो स्थानमा रहन पुगेका थिए ।

‘यो वर्ष ओलम्पिक वा विश्व च्याम्पियनसिप नभए पनि यसको अर्थ म बिस्तारै दौडने योजनामा ​​छु भन्ने होइन,’ लाइल्सले वीवीसीसँग भने, ‘यो म आफैं हुँ र म हुनु भनेको वर्चस्व कायम गर्नु र निरन्तरता दिनु हो।’

उता, सन् २०२३ की विश्व च्याम्पियन शाुकारी रिचर्डसनले १०.७७ सेकेन्डको समय निकाल्दै महिलातर्फको १०० मिटर दौड जितेकी छिन ।

 

२६ वर्षीया रिचर्डसनले यस सिजनको आफ्नो उत्कृष्ट समयसँग बराबरी गरिन्  । यस दौडमा कायला ह्वाइट १०.९० सेकेन्डका साथ दोस्रो र तामारी डेभिस ११.०० सेकेन्डका साथ तेस्रो स्थानमा रहन बाध्य पारिन् ।

‘मानसिक, शारीरिक र भावनात्मक रूपमा स्वस्थ रहँदै राम्रो अवस्थामा फर्कन पाउनु निकै उत्कृष्ट महसुस गराउने कुरा हो,’ ट्र्याक बाहिर विभिन्न समस्याहरूको सामना गरेकी रिचर्डसनले भनिन्, ‘मैले र मेरो प्रशिक्षकले जति पनि काम गरेका छौं, त्यसको नतिजा अब निरन्तर रूपमा देखिन थालेको छ।’