![](https://nayaonline.com/wp-content/uploads/2020/01/Rajendra-Download1.jpg)
काठमाडौं, ८ वैशाख । समाजवादी पार्टीका सह–अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले कोविड–१९ बाट उत्पन्न विषम परिस्थितिसंग लड्न सरकारलाई १० बुँदे सुझाव दिएका छन् ।
आफ्नो फेसबुक पेजमार्फत संघीय संसद समेत रहेका श्रेष्ठले कोरोना भाइरसको महामारीले आक्रान्त बर्तमान परिस्थितिमा सरकारले उच्च पदस्थहरूको पारिश्रमिक कटौति, मजदुर, बेरोजगार, गरिव विपन्नहरूको व्यवस्थापन, स्वास्थ्यकर्मीहरू, सुरक्षाकर्मी, सफाई मजदुर तथा अस्पताल कर्मचारीलाई प्रोत्साहन भत्ता, नाफाखोर प्रवृत्तिमाथि कडा कारवाही लगायतका कामहरू गर्न सरकारलाई सुझाएका छन् ।
उनले लेखेका छन्, “देशका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधिस, सभामुख, मन्त्री, सांसद लगायत सबै उच्च पदस्थ ब्यक्तिहरू तथा व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र संबैधानिक आयोगका अधिकृत तहभन्दा माथिका कर्मचारी र सो सरहका सबै राष्टसेवकहरूको पारिश्रमिक कटौतिको प्रस्ताव राख्नुपर्छ र यसलाई पनि कोरोना नियन्त्रण तथा प्रतिरोध कोषमा राख्नुपर्छ । यस्तो बेला विलासी जीवन छोडौँ, सादा जीवन बिताऔँ भन्ने सन्देश दिनु पर्छ ।”
उनले स्वास्थ्यकर्मीहरू, अस्पतालका कर्मचारी, एम्बुलेन्स चालक, सफाई मजदुर तथा सुरक्षाकर्मीहरूलाई प्रोत्साहन भत्ता उपलव्ध गराउनु पर्ने माग गरेका छन् साथै बेरोजगार, मजदुर तथा गरीव विपन्न व्यक्तिहरूको उद्दार तथा उनिहरूलाई सुरक्षीत घर पुर्याउन पहल गर्नुपर्ने काममा समेत उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
बजारमा अनियमितता, कालोबजारी र महंगी नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन र नाफाखोर प्रवृत्तिमाथि कडा कारबाही गर्नुपर्ने श्रेष्ठको सुझाव छ ।