देशभरका विभिन्न स्थानमा पहिरोले पुरिएर मृत्यु तथा सडक अवरोध

everest kitchen
सांकेतिक फाइल फोटो

काठमाडौं । कालिकोट, राष्कोट नगरपालिका-१ चडिपानी बस्ने ६० वर्षीया घण्टी भण्डारीको पहिरोले पुरिएर बिहीबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँस्थित लेकमा भैंसी पालनको लागि बस्दै आएकी उनको घाँस काट्न जंगल गएको अवस्थामा माथिबाट पहिरो जाँदा पुरिएर घट्नास्थलमै मृत्यु भएको हो ।

Add
advertise

यसैगरी पलाता गाउँपालिका-८ दाम्री बस्ने २४ वर्षीय कमल रोकायको कुलो मर्मत गर्ने क्रममा माथिबाट आएको पहिरोले पुरिएर शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

साथै पहिरोमा परेर घाइते भएका सोही ठाउँ बस्ने ६० वर्षीय पुन रोकाय र २६ वर्षीय नैन रोकायलाई उपचारका लागि स्वास्थ्य इकाई कार्यालय वेसनकोट पठाइएको छ ।

त्यस्तै रोल्पाको त्रिवेणी गाउँपालिका-७ गोठवाङस्थित घोराहीबाट थवाङ जाने शहिद मार्गमा अविरल बर्षाको कारण पहिरो जाँदा बाटो पूर्णरुपमा अवरोध भएको छ । प्रहरी चौकी नुवागाउँबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

यस्तै गुल्मीको रुरु क्षेत्र गाउँपालिका-२ भङरादी खोलास्थित कालीगण्डकी करीडोर सडकमा शुक्रबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।

साथै चोरकाटेबाट पाल्पातर्फ जाँदै गरेको लु.२ च ७४९२ नम्बरको स्कारपियो गाडीको अगाडि पट्टिको भाग पुरिएर पूर्णरुपमा क्षति भएको छ । ईलाका प्रहरी कार्यालय रिडीबजारबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

त्यस्तै संखुवासभाको मकालु गाउँपालिका-३ सटेचोकस्थित किमाथाङका खाँदबारी सडकमा शुक्रबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ । ईलाका प्रहरी कार्यालय हेदङनाबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

घटनास्थलमा तत्काल घटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार गरिरहेको प्रहरीले जनाएको छ ।