चेपाङ समुदायबाट मकवानपुरका सन्तबहादुर पहिलो मन्त्री

everest kitchen

हेटौंडा । मुलुकमै पहिलो पटक चेपाङ समुदायबाट वाग्मती प्रदेश सरकारमा सन्तबहादुर चेपाङ राज्यमन्त्री बनेका छन् । मकवानपुरको राक्सिराङ गाउँपालिका—७ धिराङका चेपाङलाई शुक्रबार वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । धिराङ मकवानपुरको अत्यन्त विकट बस्ती हो ।

सन्तबहादुर नेपाली कांग्रेसबाट समानुपातिकमा प्रदेशसभा सदस्यमा चुनिएका थिए । नवनियुक्त राज्यमन्त्री चेपाङको शपथग्रहण पनि भइसकेको छ । शपथ लिएपश्चात् राज्यमन्त्री चेपाङले चेपाङ समुदायबाटै पहिलो मन्त्री बन्न पाएकोमा पार्टी र सरकारप्रति आभार प्रकट गरे ।सिंगो चेपाङ समुदायको निम्ति आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने,‘सरकारले घरभाडाबापत दिने पैसावाट चेपाङहरुको स्वास्थ्य बिमा गरिदिन्छु ।’

चेपाङ समुदायमा मौलाइरहेको बालविवाह नियन्त्रण गर्न पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । चेपाङ समुदायमा १२ वर्षको उमेरदेखि नै विवाह हुने गर्छ ।

भाइ मन्त्री बनेको खबर सुनेपछि धिराङमा बस्ने उनको माइला दाजु चन्द्रबहादुर चेपाङ दंग परेका छन् । ‘विकट पहाडमा जन्मेको चेपाङको छोरा पनि मन्त्री हुँदोरहेछ, हाम्रो कान्छा भाग्यमानी रहेछ,’ चन्द्रबहादुरले भने । ८ कक्षासम्म अध्ययन गरेका ४६ वर्षीय चेपाङले २०४८ सालदेखि राजनीतिमा प्रवेश गरेका हुन् । सुरुदेखि नै उनी कांग्रेसमा आबद्ध छन् । त्यसो त उनका बुबा पनि कांग्रेसका कार्यकर्ता थिए ।

कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधिसमेत रहेका सन्तबहादुरले नेपाल चेपाङ संघको जिल्लादेखि केन्द्रसम्मको जिम्मेवारी बहन गरिसकेका छन् । नेकपा एकीकृत समाजवादीका नेता एवं संविधानसभा सदस्य गोविन्दराम चेपाङले भने,‘लोपोन्मुख चेपाङ समुदायबाट पहिलो मन्त्री हुनु सिंगो चेपाङ समुदायको निम्ति गौरवको विषय हो, यसमा हामीले गर्व गर्नु पर्छ ।’

एमालेका चेपाङ नेता सिंहलाल चेपाङले आफ्नै गाउँको व्यक्ति मन्त्री हुनु अत्यन्त खुसीको कुरा भएको बताए । उनले भने,‘यो संघीयताको उपलब्धि हो ।’

पहिलो संविधानसभा सदस्य एमालेबाट मकवानपुरका गोविन्दराम चेपाङ र माओवादीबाट गोरखाकी राममाया चेपाङ बन्न सफल भएका थिए । दोस्रो संविधानसभामा चेपाङहरुको उपस्थिति नै रहेन ।

मकवानपुर, चितवन, गोरखा, धादिङ र तनहुँ जिल्लामा चेपाङ समुदायको बाक्लो बस्ती छ तर सात वटा प्रदेशमध्ये वाग्मती प्रदेशमा चेपाङ जातिबाट एकजना मात्र प्रदेशसभा सदस्य रहेका छन् । तीनै चेपाङ सन्तबहादुर राज्यमन्त्रीमा नियुक्त भएका छन् । २०६८ को जनगणनाअनुसार मुलुकभर ६८ हजार ३ सय ९९ चेपाङको जनसंख्या छ । कान्तिपुरमा प्रताप विष्टेले लेखेका छन् ।