रुकुमको त्रिवेणी ९ मा तरुण दल र वाईसीएलबीच झडप

everest kitchen
दुबै पक्षको झडपमा तोडफोड भएको प्रहरी चौकी

रुकुम । रुकुम पश्चिमको त्रिवेणी-९ मा नेपाली काङ्ग्रेस निकट तरुण दल र नेकपा माओवादी केन्द्र निकट वाईसीएल कार्यकर्ताबीच झडप भएको छ । कांग्रेस कार्यकर्ताले माओवादीको वडा कार्यालयमा तोडफोड तथा पोष्टर, झण्डा फालेपछि विवाद भएको बताइएको छ ।

गएराति कांग्रेस कार्यकर्ताले माओवादीको वडा कार्यालय र माओवादीका स्थानीय नेता चुडामणी बस्नेत र डिलबहादुर विकको घरमा तोडफोड गरेको, केरा काटिदिएको साथै कतिपयका घरको लत्ताकपडासमेत फालिदिएपछि विवादले थप उग्र रुप लिएको थियो ।

काङ्ग्रेस कार्यकर्ताद्धारा तोडफोड गरिएको सवारीसाधन , केरा बारी । फोटो: कखरा

हिजोदेखिको विवादपछिको झडपमा काङ्ग्रेसका केही कार्यकर्ता घाइते भएका छन् भने काङ्ग्रेस कार्यकर्ताले स्थानीय एक माओवादी नेताको घरमा आगजनीसमेत गरेको बएको छ । घाइतेहरुलाई त्रिवेणी गाउँपालिका अस्पतालका स्वास्थ्यकर्मी दिनेश विष्ट नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले घटना स्थलमा गई प्रथामिक उपचार गरेर त्रिवेणी गाउँपालिकाको एम्बुलेन्सबाट जिल्ला अस्पताल सल्ले पठाएको छ ।

कांग्रेस कार्यकर्ताले माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार जनक विक, बस्नेत र अर्का एक व्यापारीको मोटरसाइकल तोडफोड गरिदिएको स्थानीयले बताए ।

त्यस्तै, नेपाली काँग्रेसको तर्फबाट जिल्लाको त्रिवेणी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार अमरसिंह खड्का चढेको गाडि तोडफोड भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ता बिचको झडपको क्रममा गाडि तोडफोड भएको हो । यस्तै काङ्ग्रेस कार्यकर्ता र माओवादी कार्यकर्ताबीचको झडपमा अस्थायी प्रहरी चौकी नुवाकोटमासमेत तोडफोड भएको छ ।

उक्त स्थानमा प्रहरीको थोरै जनशक्ति भएकोले भिड नियन्त्रण गर्न नसकेपछि झडपले उग्ररूप लिएको बताएको छ । यद्यपि अहिले भने प्रहरी निरीक्षक राजिव श्रेष्ठ नेतृत्वमा जिल्लाबाट खटिएको प्रहरीले उक्त स्थानमा सुरक्षा दिईरहेको छ ।